धनजनता माविले चुम्यो उपाधि

गोपाल आचार्य/ताकम
पुस २९ गते । धौलागिरी गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनजनता मावि मुनाले जितेको छ । हेममावि सिवाङमा माविमा सम्पन्न भएको अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधि धनजनता मावि मुनाले हातपार्न सफल भएको हो ।

धनजनता मावि मुनाले १० स्वर्ण ७ रजत र एक काश्य गरी १८ मेडल प्राप्त गरी प्रथम, हेम मावि सिवाङले १० स्वर्ण ४ रजत ४ काश्य गरी १८ मेडल प्राप्त गरी उपविजेता र चन्द्रज्योती मावि खिवाङले २ स्वर्ण ४ रजत ४ काश्य गरी १० मेडल प्राप्त गरी तेस्रो स्थान हाँसिल गरेको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

यसै गरी छात्रा तर्फको भविबल प्रतियोगितामा धनजनता मावि मुना प्रथम, ताकम मावि ताकम द्धितिय र लम्सुङ मावि लम्सुङ तितृय भएका छन् । छात्रतर्फ जनविकास मावि मराङ प्रथम र धनजनता मावि मुनाले दोस्रो स्थान हाँसिल गरेका थिए ।

उपाधि चुम्ने धनजनता मावि मुनाले राष्ट्रपति रनिङ शिल्ड, कप र मेडल सहित नगद ४५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता हेम मावि सिवाङले ३० हजार र तेस्रो भएको चन्द्रज्योती मावि खिबाङले २० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । विजेता विद्यालय र खेलाडीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पुरस्कार वितरण गर्नुभएको थियो । खेल क्षेत्रको विकासका लागि स्थानीय तहमा आयोजना गरिएको प्रतियोगिताले महत्वपूर्ण योगदान गर्ने उहाँले बताउनुभयो । खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्ने उहाँको भनाई थियो ।

यसअघिका वर्षमा जिल्ला स्तरमा मात्र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको थियो । प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास परिषद्ले सबै स्थानीय तहलाई एक लाख रुपैयाँ पठाएको छ ।

धौलागिरि गाउँपालिकाले थप ६ लाख रुपैयाँ बिनियोजन गरेको र प्रतियोगितालाई निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । विद्यालय स्तरका विद्यार्थीहरुको खेल क्षमताको विकास गर्न गाउँपालिकाले खेलकुदको आयोजना गरेको उहाँको भनाई थियो ।

यस अघि विहिवार उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले स्थानीय स्तरमा आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरुको खेल प्रतिभाको प्रस्फुटनमा टेवा मिल्ने बताउनुभयो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि प्रदेश र राष्ट्रिय स्तर सम्म पुग्ने अवसर प्रदान गर्न सहयोग मिल्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढामगर खेलकुदको विकासले विद्यार्थीहरुमा अनुशासन कायम हुने,टिमवर्कको विकास र कुलतबाट बच्न सहयोग मिल्ने बताउनुभयो कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य,नेपाली काँग्रेसका प्रतिनिधि तेजेन्द्रबहादुर थापा, गैसस महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको पहिलो दिन पन्ध्रसय मिटरको छात्र तर्फको दौडमा हेम माविका श्याम छन्त्याल प्रथम,धनजनता मावि मुनाका भुवन मल्ल दोस्रो र किसानी मावि धारापानीका शिखर थापा तेस्रो भएका थिए ।

छात्रा तर्फ हेम मावि सिवाङकी रिता भण्डारी प्रथम,धनजनता मावि मुनाकी सविना मल्ल दोस्रो र जनकल्याण मावि गुर्जाकी शुसिला विकले तेस्रो स्थान हासिल गर्नुभएको छ । विजेता विद्यार्थीहरुलाई प्रजिअ अधिकारी,प्रहरी नायव उपरिक्षक बुढमगर र खेलकुद विकास समितिका अध्यक्ष विकले मेडल प्रदान गर्नुभएको थियो ।