म्याग्दीमा दशैं तिहार लक्षित बजार अनुगमन सुरु

विकल्प न्यूज/बेनी
असोज १८ गते । DSC_0321जिल्ला प्रशासन कार्यालय म्याग्दीले विहिवार देखि बेनीबजारमा अनुमगन सुरु गरेको छ । नजिकिँदै गरेको दशैं तिहार जस्ता चाढबाडका क्रममा सर्बसाधारणले दैनिक उपभोग्य वस्तुहरु सर्बसुलभ र उचित मुल्यमा पाउने वातावरण बनाउन बजार अनुगमन सुरु गरिएको हो ।

सर्बसाधारणले दैनिक उपभोग्य वस्तुहरु सर्बसुलभ र उचित मूल्यमा पाउने आम उपभोक्ताको अधिकार संरक्षण गर्न र ब्यबसायीले पनि अनुचित नाफा लिने र म्याद नाघेका बासी सडेगलेका सामानहरू बेच्न नपाउन भन्ने उद्देश्यले बजार अनुगमन कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।

प्रशासन, निजी क्षेत्र,पत्रकार र प्रहरीको संयुक्त टोलीद्धारा दैनिक उपभोग्य वस्तुका थोक तथा खुद्रापसलहरुमा अनुगमन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र शर्माले जानकारी दिनुभयो । विहिवार बेनीको विरेन्द्र चोक,हुलाकचोक र न्यूरोडका पसलहरुमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका र पसलमा मूल्यसूचि नराखेको लगायतका कमजोरीहरु भेटिएका र आगमी दिनमा सुधार गर्नका लागि सुझाव दिइएको उहाँले बताउनुभयो ।
दैनिक उपभोग्य बस्तु सहित चाड पर्वमा बढि खपत हुने मासु, दुध, मिठाइ लगायतमा विशेष अनुगमन गरिने प्रशासनले जनाएको छ ।