गलेश्वरमा पुल र वस्ती संरक्षणका लागि तटबन्धन निर्माण सुरु


ठाकुरप्रसाद आचार्य /बेनी
म्याग्दी,बैशाख १० गते ।

राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजनाले सडक पुल र वस्ती संरक्षणका लागि रघुगंगा नदीमा पक्की तटबन्धन निर्माण सुरु गरेको छ । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तर्गत गलेश्वरमा निर्माण गरिएको पक्की मोटरेबल पुल जोखिममा परेपछि आयोजनाले संरक्षणका लागि तटबन्धन निर्माण थालेको हो ।


बेनी–जोमसोम सडक अन्तर्गत बेनी नगरपालिका ९ गलेश्वर स्थित रघुगंगा नदीमा निर्माण गरिएको पक्की मोटरेबल पुल र वस्ती संरक्षणका लागि योजना संचालन गरिएको आयोजनाले जनाएको छ । रघुगंगा नदीको कटानबाट पुल,सडक र वस्ती जोगाउन ४ करोड ७२ लाख ३७ हजार ४ सय ६४ रुपियाँ लागतमा तटबन्धन निर्माण थालिएको आयोजनाका सबइन्जिनियर सोहनजंग कार्कीले बताउनुभयो ।


योजना कार्यान्वयनका लागि आयोजनाले गत फागुन १३ गते महाप्रभु विआरटी साय जेभी सँग आगामी असार मसान्त भित्रमा निर्माण सम्पन्न गर्नेगरी तीन करोड ३९ लाख ८६ हजार ८ सय २३ रुपियाँमा ठेक्का सम्झौता गरी तटबन्धन निर्माण थालिएको सबइन्जिनियर कार्कीले बताउनुभयो ।


योजना सम्झौता लगत्तै कार्यस्थलमा निर्माण व्यवसायीले उपकरण र मजदुर परिचालन गरेर तटबन्धनको काम थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले सम्म योजनामा करिब ३० देखि ४० प्रतिशत भौतिक प्रगति भएको छ ।


उहाँका अनुसार रघुगंगा नदी किनारमा पुल पारी ५० मिटर र वारी गलेश्वर तर्फ ८५ मिटर गरी एकसय ३५ मिटर कम्पोजिट पर्खाल निर्माण गरिने छ । पर्खाल निर्माण भएपछि मोटरेबल पुल र पुलवारीको वस्ती नदी कटानबाट संरक्षण हुने आयोजनाले जनाएको छ ।


यसैगरी योजना अन्तर्गत नै बेनी–गलेश्वर सडक अन्तर्गत जलेश्वर र बैसरीमा नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण गरिने आयोजनाले जनाएको छ । ठेक्का सम्झौता मिति भन्दा अगावै योजना सम्पन्न गर्न मजदुर र उपकरण परिचालन गरी काम सुरु गरिएको निर्माण व्यवसायीका प्रतिनिधि शिव जिसीले बताउनुभयो ।