सुरेन गुरुङ /शिख
असार १२ गते । तिन वर्षअघिको भुकम्पका कारण क्षति पुगेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित शिख माविमा कक्षा कोठा भवन पुननिर्माण भएको छ ।
ब्रिट्रीस गोर्खा वेयलफेयरको एक करोड ६६ लाख रुपैयाँ सहयोगमा आठ कोठे भवन पुननिर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजाले जानकारी दिनुभयो । वेयलफेयरको ईक्युआरटी परियोजना अन्तरगत अपाङ्ग मैत्री भूकम्प प्रतिरोधी क्षमताको दुई तले भवन निर्माण भएको हो । वि.स २०७२ बैशाख १२ र २९ गतेको भुकम्पका कारण विद्यालयको पुरानो कक्षा कोठा भवन जिर्ण बनेपछि विद्यार्थीहरु जोखिम मोलेर अध्ययन गर्न बाध्य थिए ।
बेलायतको सेवानिवृत्त पुर्व गोर्खा सैनीक समेत रहेका व्यवस्थापन समितिका पुर्व अध्यक्ष बागबिर पाईजाको पहलमा वेयलफेयरले २०७४ मंसिर १४ गतेदेखि सुरु गरेको भवन निर्माण कार्य २०७५ असार ६ गते सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरेको अध्यक्ष बुद्धुजाले बताउनुभयो ।यसैबीच सो विद्यालयमा गत वर्ष निर्माण भएको आठ कोठे भवनमा यसपाली तिन वटा कोठा थप गरिएको छ । जिल्ला शिक्षा कार्यालयको १६ लाख रुपैया र समुदायको छ लाख रुपैयाँ बराबरको श्रमदान तथा आर्थिक सहयोग जुटाएर कोठा थप गरिएको प्रअ केदार कार्कीले बताउनुभयो ।
गत वर्ष सरकारी निकाय, स्थानीय बासिन्दा र प्रवासीहरुको एक करोड ४० लाख रुपैयाँको लागतमा छ कोठे भवन पुननिर्माण भएको थियो । जिल्ला शिक्षा कार्यालयको ३२ लाख, जिल्ला समन्वय समितिको दश लाख र साविक शिख गाविसबाट आठ लाख रुपैयाँ अनुदान उपलब्ध भएको भवन पुननिर्माणलाई पूर्णता दिन स्थानीय बासिन्दाबाट ९० लाख रुपैयाँ जुटाइएको थियो ।
सरकारी अनुदान अपुग भएपछि पोखरा, काठमाडौ र प्रवासमा रहेका शिखका बासिन्दा तथा पूर्व विद्यार्थीहरुबाट सहयोग जुटाएर भवन निर्माण कार्यलाई पूर्णता दिइएको थियो । कक्षा कोठाका लागि दुई वटा भवन पर्याप्त छ । पक्की पर्खालले घेराबार र छात्रावास भवन पुननिर्माणको योजना रहेको छ ।
भवन पुननिर्माण भएपछि पठनपाठनमा सहज र सुधार हुने अपेक्षा गरिएको प्रअ कार्कीले बताउनुभयो । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा १९१ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा पुर्व विद्यार्थीहरुको सहयोगमा कक्षा १ देखि १० सम्म कम्प्युटर विषयको पठनपाठन सञ्चालन गरिएको छ ।
कम्प्युटर विषयको पठनपाठनका लागि अमेरीकामा रहेका पुर्व विद्यार्थी तिलक पाईजाको पहलमा ३२ लाख रुपैयाँ जुटाएर १६ वटा ल्याप्टपको व्यवस्था र सौर्य उर्जा जडान गरिएको छ ।
विद्यालयलाई विश्वका विभिन्न ठाउँमा रहेका शिखवासीहरु आवद्ध शिखतानी समाजले सहयोग गर्दै आएको छ । गरिब, विपन्न विद्यार्थीलाई छात्रवृत्ति र उत्कृष्ट शिक्षकलाई प्रोत्साहन गर्न छ लाख रुपैयाँको शैक्षिक गुणस्तर वृद्धि कोष स्थापना गरिएको छ ।