घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि जग्गादान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ फागुन । dhaulagiri gaupalika
म्याग्दीको धौलागिरी गाउँपालिका ३ घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि दुई व्यक्तिले निशूल्क जग्गा उपलब्ध गराउनुभएको छ । स्थानीय दलबहादुर भण्डारी र भिमात्ती भण्डारीले दुई लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको एक रोपनी छ आना जग्गा शुक्रबार वडा कार्यालयलाई उपलब्ध गराउनुभएको हो ।
दलबहादुरले ६५ हजार बराबरको छ आना र भिमात्तीले दुई लाख दश हजार रुपैयाँ बराबरको एक रोपनी ४ आना जग्गा वडा कार्यालयको नाममा रजिस्टे«शन पास गर्नुभएको जनाइएको छ ।
धौलागिरी गाउँपालिकाको केन्द्र कायम भएको घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि गाउँसभाले चालु आर्थिक वर्षका लागि पचास लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

सो बजेट मार्फत निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गा भण्डारीद्धायले वडालाई उपलब्ध गराउनुभएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सभाहल सहितको सुबिधासम्पन्न सामुदायिक भवन निर्माणको लागि उपभोक्ता समिति गठन र सर्वेक्षणको काम सकिएको छ । जग्गा प्राप्त भएकाले गाउँपालीकासंग सम्झौता गरेर निर्माण कार्य अघि बढाइने सचिव किशोर भण्डारीले बताउनुभयो ।

तिन सय जना क्षमत्ताको सामुदायिक भवन निर्माण भएपछि सार्वजनिक कार्यक्रम, सभा, समारोह, प्रशिक्षण, तालीम, सांस्कृतिक कार्यक्रम गर्न सहज हुने वडा अध्यक्ष पुर्म पुनले बताउनुभयो ।