सन्तोष गौतम /विकल्प न्यूज
बेनी ५ मंसिर ।
आगामी आईतबार पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव सम्पन्न गर्न म्याग्दीमा साढे आठ सय जना कर्मचारी खटिने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले १०६ मतदान केन्द्रमा ८४७ जना कर्मचारी र शिक्षकलाई चुनावका लागि खटाइएको जनाएको छ । जिल्लाभर चुनावका लागि सुरक्षाकर्मी बाहेक स्वमसेवक, शिक्षक र कर्मचारीबाट एक हजार २६९ जना जनशक्ति परिचालन गरिएको सहायक निर्वाचन अधिकृत राजु ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार १०६ मतदान अधिकृत, १०६ सहायक मतदान अधिकृत, ४२३ जना सहायक कर्मचारी, २१२ सहयोगी र ४२२ जना स्वमसेवक परिचालन भएका छन् । चुनावका लागि निजामती कर्मचारी अपुग भएपछि शिक्षकलाई समेत खटाइएको छ । स्वमसेवक भने मतदान अधिकृतले स्थानीय स्तरमा नियुक्त गर्न व्यवस्था छ ।
चुनावी सुरक्षाका लागि ठूलो संख्यामा जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएको छ । चुनावका लागि नियुक्त गरिएका कर्मचारीहरु बुधबारदेखि मतदानस्थलतर्फ प्रस्थान गर्ने भएका छन् । मंसिर ७ गतेसम्म मतदान स्थलमा कर्मचारी पुगीसक्नुपर्नेछ । सोही अनुसार उनिहरुलाई मतदान सामाग्री उपलब्ध गराइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बलबहादुर खत्रीका अनुसार चुनावका लागि मतपेटीका, मतपत्र, स्ट्याम्प, स्वतीक छाप देखि सियो, धागो सम्मका ६३ प्रकारका सामाग्री प्रयोग हुनेछ । ति सामाग्रीहरु मतदान र सहायक मतदान अधिकृतहरुलाई उपलब्ध गराइएको खत्रीले बताउनुभयो ।
भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने रघुगंगा र धौलागिरी गाउँपालीकामा बुधबारदेखिनै कर्मचारी पठाईने भएको छ । कर्मचारीहरुलाई सुरक्षाकर्मीले स्कटीङ गरेर मतदान स्थलसम्म पु¥याउने सुरक्षा रणनिती छ ।
चुनावमा खटिने मतदान र सहायक मतदान अधिकृतहरुलाई गत शुक्रबारदेखि सोमबारसम्म दुई चरणमा प्रशिक्षण दिइएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एक नगरपालीका, ५ गाउँपालीका र ७२ मतदान स्थल रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् ।