८६ वर्षको उमेरमा सगरमाथा चढ्दै मीनबहादुर

 विकल्प न्यूज/बेनी
फागुन २३ गते ।

विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्ने भएका छन् ।

‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको बताए ।min serchanउनले भने, ‘सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्नुभएको थियो, त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन अहिले अभियान नै बनाएर उहाँलाई सगरमाथा पठाउन लागेका छौँ ।’

आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताए । उनले भने, ‘म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु ।’

यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढ्नुभएको थियो । उनलाई सगरमाथा आरोहण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत सङ्घ संस्थाको सहयोग रहेको छ ।

सम्मेलनमा समाजशास्त्री प्राडा कृष्ण भट्टचनले वृद्ध उमेरमा पनि नेपाल र नेपालीको नाममा शेरचनले गरेको अठोटलाई सरकारले सहयोग र सम्मान गर्नुपर्ने बताए । रासस