Search

पात्लेखेतमा सार्वजनिक सुनुवाइ

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २१ फागुन ।
म्याग्दीको पात्लेखेतमा शनिबार सार्वजनिक सेवा प्रवाह र विकास निर्माण सम्बन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

पात्लेखेत गाविस कार्यालयले आयोजना गरेको कार्यक्रममा सरकारी कार्यालय, राजनितिक दल, संघ संस्थाका प्रतिनिधि र स्थानीयबासीहरुबीच सेवा प्रवाह र विकास निर्माणमा देखिएको समस्या तथा समाधानका उपायको विषयमा छलफल भएको थियो ।IMG_3670कार्यक्रममा स्थानीय बासिन्दाले स्वास्थ्य चौकीमा दरबन्दि अनुसारका कर्मचारी नभएको र भएका पनि एकै पटक तालीम, गोष्ठिमा जाने तथा बिदा बस्ने गर्दा सेवा प्राप्त गर्न समस्या भएको गुनासो गरेका थिए ।

यसैगरी जिल्ला स्तरका कार्यालयबाट पात्लेखेतका योजनालाई प्राथमिकता नदिएको, गाउँ पहिरोको जोखिममा रहेको, सामुदायीक विद्यालयमा दरबन्दिका शिक्षक नहुँदा तलब जुटाउन समस्या भएको, भुमिकर संकलनमा गाविसले वेवास्ता गरेको, वन र कृषि प्राबिधिक गाउँमा नआएको, गलेश्वर पाखापानी र नेप्टेचौर पात्लेखेत सडक छोटो भएर पनि प्राथमिकतामा नदिएको जस्ता गुनासो गरेका थिए ।

यसैगरी गाविसमा सञ्चालित विकास योजनाहरुको अनुगमन गर्न, पूर्ण सरसफाई अभियानलाई प्राथमिकता दिन र विषयगत कार्यालय तथा गैरसरकारी संस्थाहरुसंग समन्वय गर्न सुझाव दिएका थिए । कार्यक्रममा गाविस सचिव तिलक पौडेलले चालु आर्थिक वर्षमा गाविसद्धारा सञ्चालित योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले सेवा प्रवाहलाई थप सहज बनाउने र विकास योजनालाई पारदर्शी, प्रभावकारी, जनसहभागीतामुलक र व्यवस्थित बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । विषयगत कार्यालयको गुनासो सम्बन्धित ठाउँमा पु¥याउने उहाँले बताउनुभयो । पात्लेखेत स्वास्थ्य चौकीकी अनमी सुप्र्रिया शाक्यले छ जनाको दरबन्दि भएकोमा हाल तीन जना मात्र कार्यरत रहेको र पहिलेको भन्दा सेवा प्रवाहलाई सुधार गर्ने प्रयास गरेको बताउनुभयो ।

गाविस सचिव पौडेलको अध्यक्षता, सामाजिक परिचालक रिता पौडेलको सञ्चालन, दिपक माविका प्रअ पुष्पाकुमारी रेग्मीको स्वागत र पत्रकार सन्तोष गौतमले सहजिकरण गर्नुभएको कार्यक्रममा पशु सेवा केन्द्रका घतानका नायव पशु सेवा प्राबिधिक नारायण दर्लामीले केन्द्रद्धारा सञ्चालन हुने योजना तथा कार्यक्रम सेवा, सुबिधाको विषयमा जानकारी गराउनुभएको थियो ।