अपर म्याग्दी निर्माणको तयारी

विकल्प न्यूज/बेनी
माध २५ गते ।
म्याग्दीको मुदीमा बिस मेघावाट क्षमत्ताको अपर म्याग्दी जलविद्युत आयोजना निर्माणको तयारी भएको छ । निजी क्षेत्रको हाईड्रो इम्पाएर प्रा.लीले आयोजना निर्माणका लागि पहिलो चरणमा पहुँचमार्ग निर्माण सुरु गरेको छ ।  आयोजनाको विद्युतगृह र बाँध रहने स्थानसम्म पुग्ने सडक निर्माण थालीएको हो । बिमको भारवाङ र मुदीको छहरीबाट एकैसाथ सडक निर्माण सुरु गरेको आयोजनाले छिट्टै मुदीको खाराबाट पनि सडक खन्ने जनाएको छ । Upper Myagdiहाइड्रो इम्पाएर प्रा.लीका कार्यबाहक अध्यक्ष मानबहादुर श्रेष्ठले तिन वटा खण्डमा निर्माण हुने सडक सात मिटर फराकीलो हुने जानकारी दिए । “भारवाङदेखि मुदीको घिमलटी भन्ने स्थानसम्म जोड्ने दश किलोमिटर सडक निर्माण कार्य आगामी असोजभित्र सक्ने लक्ष्य छ” श्रेष्ठले भने । हाल बिमको शिवरात्रीखोला सम्म मात्र सडक पुगेको छ । खिवाङ र मुदी गाउँको बेशीमा पर्ने घिमलटी भन्ने ठाउँमा रहने विद्युतगृह सम्म सडक पुगेपछि कात्तिकदेखि सुरुङ निर्माण थाल्ने आयोजनाको तयारी छ ।

आयोजनाले निर्माण गर्ने सडकबाट मराङको कल्लेनी, मुदीको बाँसबोट र खिवाङ गाउँका बासिन्दाहरु समेत लाभान्वित हुने भएका छन् । कार्यबाहक अध्यक्ष श्रेष्ठका अनुसार आयोजना निर्माणका लागि चार अर्व रुपैया लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । दश प्रतिशत प्रभावीत क्षेत्रका बासिन्दाबाट सेयर संकलन गर्ने र बाँकी स्वदेशी लगानीकर्ता तथा बैङ्क वित्तिय संस्थाबाट लगानी जुटाउने आयोजनाले जनाएको छ । मुदीको चेचुङ गाउँको पुछारमा रहेको जुगेपानीमा बाँध रहने आयोजनाको सुरुङको लम्बाङ २.९ किलोमिटर हुने जनाईएको छ ।

२०८ मिटर हेडबाट विद्युतगृहमा पानी खसाल्ने योजना छ । यो आयोजना रन अफ द रिभर प्रबिधिको हो । वातावरणीय प्रभाव मूल्याङकन र विद्युत खरिद बिक्री सम्झौता भैसकको आयोजनाका सागर शर्माले बताए । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्र मानिने मुदीमा जलविद्युत आयोजना निर्माणको तयारी भएपछि छिमेकी गाविसका बासिन्दाहरु समेत उत्साहीत भएका छन् ।