निर्वाचनको मिती घोषणा गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २० माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय तहका नेताहरुले संबिधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।

राप्रपा म्याग्दीले बिहीबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागि नेताहरुले राजनितिक स्थिरता, देशको विकास र संबिधानको कार्यान्वयनका लागि २०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने एजेण्डा सहित राप्रपा चुनावमा जाने बताउनुभयो ।IMG_1858उहाँले तत्काल निर्वाचनको मिती घोषणा गर्न माग गर्दै ठूला दलले डलरको प्रलोभनमा परेर नेपालको राष्ट्रियता र धार्मीक पहिचान मेटाउन खोजेको आरोप लगाउँदै त्यसको रक्षाका लागि राष्ट्रवादी शक्तिको एकतामा जोड दिनुभयो ।

यसैगरी केन्द्रिय सदस्य दिलविकास राजभण्डारीले राप्रपा र राप्रपा नेपालको एकतापछि हुन लागेको महाधिवेशन र आगामी निर्वाचनबाट राप्रपा नेपालको बैकल्पीक राजनितिक शक्तिको रुपमा स्थापित हुने घोषणा गर्नुभयो । उहाँले राप्रपा म्याग्दीलाई कार्यालय प्रयोजनका लागि एक थान कम्प्युटर उपलब्ध गराउनुभएको छ ।

सो कार्यक्रममा सहयोगदाता राजभण्डारी लगायत केन्द्रिय सदस्य देवी कडेल, सल्लाहकार गोविन्द बोगटी, बेलायत प्रतिनिधि शिव कडेल र हालै केन्द्रिय सदस्यमा मनोनित हुनुभएका जिल्ला अध्यक्ष एकेन्द्रबहादुर रावललाई सम्मान गरिएको थियो ।

राप्रपा म्याग्दीका अध्यक्ष रावलको अध्यक्षता, उपाध्यक्ष जगतनारायण गौचनको स्वागत र प्रवत्ता हरिप्रसाद शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा यही माघ २५ गते बेनीमा हुने जिल्ला अधिवेशन, केन्द्रिय महाधिवेशन र स्थानीय तहको निर्वाचनको विषयमा समेत छलफल भएको राप्रपा म्याग्दीका उपाध्यक्ष बिरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।