यातायात सेवालाई मर्यादीत र प्रतिस्पर्धी बनाउन सुझाव

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २० माघ ।
म्याग्दीका सरोकारवालाहरुले यातायात सेवालाई मर्यादीत र प्रतिस्पर्धी बनाउन व्यवसायीलाई सुझाव दिएका छन् ।

म्याग्दी जिप तथा बस सञ्चालक समितिको १५ औ साधारणसभा तथा सातौ अधिवेशनमा सहभागि सरकारी अधिकारी र राजनितिक दलका नेताहरुले सहज रुपमा सेवा प्रवाह गर्न सुझाव दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले यातायात ब्यवसायलाई मर्यादीत र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताउनुभयो । राज्यको निती नियमको पालना गर्नु सबैको दायीत्व भएको बताउँदै प्रजिअ पौडेलले यात्रुलाई दिने सेवा र गर्ने ब्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।IMG_1878(1)नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका केन्द्रिय सदस्य राजकुमार श्रेष्ठले स्तरीय र प्रतिस्पर्धी सेवा दिन चाहेपनि सरकारले रुट कायम गर्दानै सिण्डीकेटलाई प्रशय दिएको बताउनुभयो । उहाँले दुर्घटना बिमा सहज रुपमा भुक्तानी पाउने व्यवस्था मिलाउन माग गर्नुभयो ।
समितिका पुर्व अध्यक्ष गोपालप्रसाद भट्टचन, उपाध्यक्ष कमल केसी, म्याग्दीकाली जिप ब्यवसायी समितिका अध्यक्ष बिनोद केसी लगायतले म्याग्दीको यातायात सेवालाई व्यवस्थित बनाउन बसपार्कको व्यवस्था र ग्रामिण सडकको स्तरवृद्धीमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
समिति मातहत १२१ वटा माईक्रोबस र २१ व्टा जिपले बेनी देखि लामो तथा छोटो दुरीमा यातायात सेवा दिदै आएका छन् । समिति मातहतको यातायात ब्यवसायमा आधा अर्ब रुपैया भन्दा बढीको लगानी रहेको छ ।

म्याग्दी जिल्लाको सबै सडक, मुस्ताङ, बागलुङ, पोखरा, सुनौली रुटमा सेवा दिदै आएको समितिले स्वच्छ प्रतिस्पर्धाको आधारमा व्यवसाय सञ्चालन गर्ने योजना बनाएको छ । साधारणसभामा स्थानीय विकास अधिकारी प्रेमराज गिरी र बेनी नगरपालीका कार्यालयका कार्यकारी अधिकृत छवीलाल सुवेदीले ग्रामिण स्तरको स्तरवृद्धी योजनालाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले दुर्घटना न्युनीकरणका लागि सावधानी अपनाउन र जिम्मेवार बन्न जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका माधवप्रसाद रेग्मी, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा, अखण्ड नेपाल पार्टीका डम्मरबहादुर बानिया लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

समितिका अध्यक्ष सुरत केसीको अध्यक्षता, सचिव सुमन श्रेष्ठको सञ्चालन र बरिष्ठ उपाध्यक्ष कमल केसीको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनबाट आगामी चार वर्षे कार्यकालका सञ्चालक समितिको नयाँ नेतृत्व चयन हुने कार्यालय प्रमुख देवेन्द्र पौडेलले बताउनुभयो ।