सम्झौता मिति अगावै तयार भयो सीम–सातबिसे झोलुङ्गे पुल

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मङ्सिर २८ गते ।

निर्माण व्यवसायीले समयमै योजना  सम्पन्न नगरेर अलपत्र परेका खबरहरु सार्वजनिक भइरहेका छन् । तर यहाँको एक झोलुङ्गे पुलको योजना भने सम्झौता मिति नसकिँदै निर्माण व्यवासयीले सम्पन्न गरेर उदाहरणीय बनेका छन् ।

जिल्लाको मंगला गाउँपालिका २ सीम देखि ३ नम्बर वडाको सातबिसे गाउँलाई जोड्ने गरी म्याग्दीखोलामा निर्माण गरिएको एन टाइपको झोलुङ्गे पुल सम्झौता मिति सकिनभन्दा दुईमहिना अगावै सम्पन्न भएको हो ।

पुल निर्माण सम्पन्न भएसँगै डेढ घण्टाको पैदल यात्रा पाँच मिनेटमा छोटीएपछि स्थानीयहरु हर्षित भएका छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीले पुल निर्माण गर्न २०७८ फागुन २ गते जुम्ली निर्माण सेवासँग पुलको पार्टस वाहेक ३७ लाख ३४ हजार रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता मिति भन्दा अगावै काम सम्पन्न गरेर ठेकेदारले उदाहरणीय कार्य गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

पुल निर्माण गर्नुपर्ने सम्झौता मिति मङ्सिर मसान्त सम्म थियो पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले भन्नुभयो ‘म्याग्दी खोला माथि एकसय १० मिटर लामो एन टाइपको झोलुङ्े पुल सम्झौता मिति भन्दा दुईमहिना अगावै निर्माण सम्पन्न भएको छ ।’ उहाँका अनुसार उक्त पुलको डिजाइन म्याग्दीमा पहिलो हो ।

पुल बनेसँगै सीम र सातबिसेका स्थानीयहरुलाई आवतजावत गर्न निकै सहज भएको स्थानीयवासी तथा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्रुव केसीले बताउनुभयो । मंगला गाउँपालिकाको ३ नम्बर वडा वरङ्जाको सातबिसे,बान्द्रे,ज्यामिरे,झार्कीपानी र २ नम्बर वडाका सिम,कोत्रावाङ,सिमलचौर र खुम्लियाका स्थानीयहरु लाभान्वित भएका छन् ।

म्याग्दी खोलाको वारीपारीका वस्तीहरुलाई खेतीपाती गर्न पुल नहुँदा डेढ घण्टासम्म पैदल हिडेर जानुपर्ने बाध्यता थियो केसीले भन्नुभयो ‘पुल बनेसँगै डेढ घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ ।’ अहिले दैनिक एकसयको हाराहारीमा सर्वसाधारणहरु पुलबाट आवतजावत गर्ने उहाँको भनाई छ । पुलका लागि आवश्यक पर्ने करिब दुईरोपनी जमिन समेत केसीले उपलब्ध गराउनुभएको थियो ।