ज्यान हत्केलामा राखी काठकोसाँघु वारपार

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन १ गते ।

मुदी बगरा स्थित तातोपानी कुण्ड पुग्नका लागि म्याग्दीखोलामा बनाइएको काँठको साँघुबाट खोला तर्दै स्थानीयवासी । तस्विर ठाकुरप्रसाद आचार्य 

संसारको सातौ अग्लो धौलागिरि हिमाल आरोहण गर्न पुग्ने पर्यटकहरु पदमार्गका विभिन्न स्थानहरुमा झोलुङ्गे पुल नहुँदा पदयात्राका लागि पुगेका पर्यटकहरु ज्यान हत्केलामा राखेर खोला वारपार गर्नुपर्ने अवस्था छ । धौलागिरि गाउँपालिका ४ मुदी देखि आधारशिविर सम्म करिब १५ स्थानमा झोलुङ्गे पुलको आवश्यकता पहिचान गरिएको छ ।

म्याग्दी र यसका सहायक खोलाहरुमा स्थानीयवासीहरुले बनाएका काँठे साँघुबाट वर्षो देखि खोलावारपार गर्नुपर्ने बाध्यता रहेको धौलागिरि आधार शिविर अन्तर्गत इटाली बेशक्याम्पका होटल व्यावसायी हरीप्रसाद तिलिजाले बताउनुभयो ।
। पदयात्रालाई सहज र व्यवस्थित बनाउन खोला नालाहरुमा पुल बनाउन सम्बन्धित निकायमा माग गरेपनि सुनुवाई नभएको उहाँले बताउनुभयो । भौगोलिक रुपमा कठिन भएकाले पनि पुल बनाउन सम्बन्धित निकायले चासो नदिएको उहाँको भनाई छ । मुदी देखि धौलागिरि वेसक्याम्प सम्म विभिन्न स्थानमा गरेर ठूला ५ वटा झोलुङ्े पुल र १० स्थानमा साना पुलको आवश्यकता छ ।

खोलाहरुमा पुल नहुँदा पदयात्रा सुरक्षित नभएकाले कतिपय पर्यटकहरु बीचबाटोबाट फर्किने गरेको उहाँले बताउनुभयो । म्याग्दी खोलाको तिरमा अवस्थीत तातोपानी कुण्डमा स्नान गर्न पुग्ने मुदी बगरका स्थानीयवासी र राउण्ड धौलागिरि पदयात्रामा पुगेका स्वदेशी एवम् विदेशी पर्यटकहरु तातोपानी कुण्डमा पुग्नका लागि ज्याननै जोखिमा मोलेर काठको साघुबाट खोलावारपार गर्नुपर्ने बाध्यता छ । पदमार्गमा पर्ने मुदी बगराको तातोपानी कुण्डमा पुग्ने झोलुङ्गे पुलको माग गरेपनि कहिँबाट सुनुवाई नभएको मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो ।

राउन्ड धौलागिरि पदयात्रामा पुगेका सयौं पर्यटकहरु तातोपानी कुण्डामा पुगेर थकान मेटाउन चाहान्छन तर झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर भएपनि खोला वारपार गर्दछन् तिलिजाले भन्नुभयो ‘सम्बन्धित निकायमा पुलका लागि धेरै पटक माग ग¥यो अहिलेसम्म सुनुवाई भएको छैन,जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ ।’

कम्तिमा म्याग्दी खोलाका ५ स्थानमा पुल बनाउनसके धौलागिरि पदयात्रामा आउने पर्यटकलाई निकै सहज हुने उहाँको भनाई छ । हिमालको हिउँ पग्लीएर आउने खोलाहरु भएकाले हिउदका समयमा पनि खोलामा पानीको बहाव वढ्ने हुँदा खोला वारपार गर्न जोखिम कठिन हुने उहाँले बताउनुभयो ।

‘राउण्ड धौलागिरी पदयात्राको १५ स्थानमा पुलको आवश्यकता छ तर कहिकतैबाट हाम्रो मागको सुनुवाई भएन, वर्षौ देखि जोखिम मोलेर भएपनि यात्रा गर्नुपर्ने बाध्यता छ’ तिलिजाले भन्नुभयो ।

पुल निर्माण गरी पदयात्रालाई सहज बनाउन सकेमा अहिलेको संख्या भन्दा तेब्बर पर्यटकहरु राउण्ड धौलागिरिको पदयात्रामा आउने उहाँले दावी गर्नुभयो । सम्बन्धित निकायहरुमा पटक पटक पुलको माग गर्दा पनि कहिँकतैबाट सुनुवाई नभएको उहाँले दुखेसो पोख्नुभयो । दुर्गम र विकट भएकाले पुल निर्माण गर्न चुनौती भएपनि पुलको योजना परेमा आफूहरु श्रमदान गर्न तयार भएको बगराका स्थानीय तमबहादुर पुर्जाले बताउनुभयो । धौलागिरि आधारशिविर पुग्ने लक्ष्य लिएर आएका पर्यटकहरु खोला वारपार गर्न नसकेर विचबाटो बाटै फर्किने गरेको उहाँले बताउनुभयो ।

प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकन र अध्ययनको लागि नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि राउण्ड धौलागिरि पदमार्ग आकर्षक गन्तव्यस्थल भएपनि पदयात्रा सहज नहुँदा आशा गरिए अनुसारका पर्यटक आउन नसकेको धौलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

गाउँपालिकाको सिमित स्रोतसाधनले पुल निर्माण गर्न सम्भव नभएको र प्रदेश र संघ सरकार सँग माग गर्दा पनि सुनुवाई नभएको उहाँले बताउनुभयो । पुल हाल्नुपर्ने स्थानहरुको पहिचान गरी माग गरेका थियौं पुनले भन्नुभयो‘ वर्षौ देखिको हाम्रो माग सम्बोधन नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको छ ।’ रातोखोला,तातोपानी कुण्ड जाने म्याग्दीखोला,झम्म्रुकोट खोला,धाप्चा खोला,कैचीविरै खोला,तलित्रै खोला,हरथेवे खोला,ठाडोओडार खोला,चौरवन खोला,इटाली बेस क्याम्पको म्याग्दी खोला,स्वीस क्याम्प खोला र जापानीज वेशक्याम्प नजिक म्याग्दी खोलामा गाउँपालिकाले तिनवर्ष अघि पुल हाल्नुपर्ने स्थानको पहिचान गरेको थियो ।