बेनी–दरबाङ सडकलाई साढे अठार करोड बजेट प्राप्त

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ मंसिर ।
म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीहरुलाई सदरमुकामसंग जोड्ने बेनी–दरवाङ सडक कालोपत्रे र स्तरउन्ती लागि साढे अठार करोड रुपैयाँ बजेट प्राप्त भएको छ ।
अर्थ मन्त्रालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई हालै बेनी–दरवाङ सडक स्तरउन्नतीका लागि बहुवर्षे ठेक्का मार्फत १८ करोड ५० लाख रुपैयाँ बजेट बराबरको काम गर्न स्वीकृती दिएको हो ।darbang-bazarबेनी देखि सिंगा, बाबियाचौर हुदै दरवाङ जोडिने २४ किलोमिटर यो सडक स्तरवृद्धीका लागि सडक डिभिजन कार्यालय बागलुङले गत वर्ष ६० करोड रुपैयाँको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरेर सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोग मार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

पहिलो चरणमा प्राप्त भएको बजेटको काम गर्न लागत सर्वेक्षण गरेर ठेक्का प्रक्रिया अघि बढाउने र थप बजेटका लागि समेत पहल गरिने सडक डिभिजन कार्यालय बागलुङका ईन्जिनियर उज्वल शर्माले बताउनुभयो । साठी करोडको डिपीआर भएपनि प्राबिधिक त्रुटीका कारण साढे १८ करोड बराबरको काम गर्नका लागि मात्र बजेट स्वीकृत भएको जनाइएको छ । beni-darbang-roodआगामी डेढ महिनाभित्र बहुबर्षे ठेक्का प्रक्रिया सुरु गर्ने तयारी भएको ईन्जिनियर शर्माले बताउनुभयो । अर्थमन्त्री कृष्णबहादुर महराले यो योजनाको लागि मंसिर ९ गते बजेट स्विकृत गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढाउन भौतिक योजना तथा यातायात मन्त्रालयलाई १२ गते पत्राचार भैसकेको हाल प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत नेकपा माओवादी केन्द्रका नेता पुनम खड्काले जानकारी दिनुभयो ।

धेरै वर्षको प्रतिक्षापछि बेनी दरवाङ सडक कालोपत्रे गर्न बजेट प्राप्त भएको खबरले जिल्लाबासी उत्साहीत भएका छन् । यो सडकले प्रस्तावीत मालीका, मंगला र धौलागिरी गाउँपालिकाको साथै बागलुङ तथा रुकम जिल्लाको आर्थिक, भौतिक, जलविद्युत र पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने म्याग्दी उद्योग वाणिज्य संघ दरवाङ ईकाई सभापति मोतीराज गौतमले बताउनुभयो ।

बेनी दरवाङ सडक अन्तरगत बाबियाचौरको लाम्पाटा र तातोपानी नजिकैको फापरखेतको पहिरोको समस्या दिर्घकालीन रुपमा नियन्त्रण गर्ने उद्देश्यले जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पुर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम मार्फत साढे पाँच करोड रुपैयाँ लागतको आयोजना सञ्चालन गर्ने तयारी भएको छ ।

विसं २०५५ मा बेनीदेखि ट्र्याक खोल्न सुरु गरिएको सोे सडक २०६४ सालमा दरवाङ पुगेको थियो । गत वर्ष सडक डिभिजन कार्यालय बागलुङले बेनीदेखि मंगलाघाटसम्म करिब एक किलोमिटर कालोपत्रे गरिसकेको छ । कच्ची र साँघुरो भएका कारण जोखिमयुक्त रुपमा हाल साढे दुई घण्टाको यात्रा गर्नुपर्ने यो सडक स्तरवृद्धी भएमा सवारी मार्फत तिस मिनेटमा पार गर्न सकिने प्राबिधिकहरुले बताएका छन् ।