उद्योगी, व्यवसायीहरुको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीको हकहितको संरक्षण, व्यवसाय प्रवद्र्धनको साथसाथै जिल्लाको विकास, आर्थिक, सामाजिक र पूर्वाधार निर्माणको क्षेत्रमा पनि महत्वपूर्ण योगदान गर्दै आएको छ । नवविकल्प साप्ताहिकको नवौ वार्षिक उत्सवको अवसरमा स्थानीय तहको पुनर्संरचनासंगै म्याग्दीको समृद्धिका लागि सम्भावनाको खोजी गरेर प्रकाशन गर्न लागेको बिशेषाङका लागि संघका अध्यक्ष जिबनबहादुर विश्वकर्मासंग कार्यकारी सम्पादक सन्तोष गौतमले गरेको कुराकानी ।
٠यहाँलाई नवविकल्प कुराकानीमा स्वागत छ ।
–धन्यवाद । यहाँ र नवविकल्प साप्ताहिकलाई ।
٠म्याग्दी उद्योग वाणिज्य संघको पछिल्लो गतिबिधि के छ ?
म्याग्दी उद्योग वाणिज्य संघले हालै मात्र जिल्लामा उद्योग, ब्यापारको विकास, प्रवर्धन र संवर्धनका लागि व्यवसायीहरुको क्षमता अभिवृद्धी गराउन तालीम, कर संकलन शिवीर सम्पन्न गरि र व्यवसायीलाई आईपर्ने समस्या समाधानका लागि सहजिकरण गरिरहेका छौ । यसको साथै जिल्लाको कला र संस्कृतीको संरक्षण एवं पूर्वाधार विकासका लागि सरकारी निकाय, समुदायसंग मिलेर अन्य गतिबिधिहरु पनि सञ्चालन गरेको छ । पर्यटनको माध्यमबाट म्याग्दीलाई चिनाउन म्याग्दी उद्योग वाणिज्य संघको पहलमा धौलागिरी सेञ्चुरी पदमार्गको पहिचान र नक्साङ्कन गरि पर्यटनका लागि खुल्ला गर्ने तयारी भएको छ । पर्यटन बोर्डले निकट भविष्यमा म्याग्दीको राहुघाट क्षेत्र हँुदै धौलागिरी आधार शिवीर पुग्ने छोटो दुरीको यो पदमार्ग सञ्चालन गर्दैछ । सडक, विद्युत, सञ्चार, पदमार्गको निर्माण, मर्मत र सुबिधा विस्तारका लागि सरकारी निकायलाई उद्योग वाणिज्य संघले घचघच्याउने काम गरिरहेको छ । व्यवसायलाई दर्ता गरेर बैधानीक रुपमा सञ्चालन गर्न व्यवसायिलाई प्रशिक्षण दिने काम पनि गरिरहेका छौ ।
٠राज्यको पुनर्संरचना संगै म्याग्दीको औद्योगिक र व्यवसायिक सम्भावना कस्तो देख्नुहुन्छ ?
धेरै लामो संघर्ष र प्रतिक्षा पछि जारी भएको संबिधान कार्यान्वयनको क्रममा अहिले स्थानीय तहको पुनर्संरचनाको काम भैरहेको छ । म्याग्दीको पुनर्संरचनाको विषय नटुङ्गीए पनि पाँच वटा स्थानीय तह बन्दैछ । केन्द्रको अधिकार, सेवा र सुबिधा विकेन्द्रित गरेर गाउँतहसम्म पुग्नुका साथै स्थानीय स्रोत, साधन र सम्भावनाको पनि पहिचान, सदुपयोग र परिचालन हुने अपेक्षा गरीएको छ । पुनर्संरचनाले उद्योग, व्यवसाय र बजार बिस्तार हुने सम्भावना छ । गाउँपालिकाको केन्द्र स्थापना हुँने ठाउँमा सहरिकरण भई सुबिधाको नाममा बसाईसराई गर्ने क्रम रोकीने र विभिन्न पदहरुमा रोजगारी सिर्जना हुने सम्भावना छ । केन्द्रिकृत नीतिका कारण ओझेलमा परेका दुरदराजको सम्भावना उजागर हुन्छ । यसले पक्कै पनि उद्योग र व्यवसायको विकासमा सकारात्मक प्रभाव पार्छ । यसैगरी चार नम्बर प्रदेशको लाईफ लाईन मानिएको कालीगण्डकी करिडोरले म्याग्दीलाई समेट्ने भएकाले यहाँको व्यवसायिक महत्व अझ बढ्ने सम्भावना छ ।
٠म्याग्दीको कुन क्षेत्रमा सम्भावना देख्नुहुन्छ ?
–जलविद्युत र पर्यटन म्याग्दीको मुख्य सम्भावना हो । यसका लागि पूर्वाधारको आवश्यकता छ । म्याग्दीको जलविद्युत विकासको प्रवेशद्धार मानिएको राहुघाट सकिएर विद्युत उत्पादन हुनुपर्नेमा विभिन्न कारणले रोकिएर पुनः टेण्डरको काम अन्तिम चरणमा छ । आशा छ छिट्टै यो आयोजना निर्माण सुरु हुनेछ र अन्य आयोजनाहरु पनि भित्र्ने छन् । नारच्याङ्मा मिस्त्रीखोला र घलेम्दी जलविद्युत आयोजना निर्माण सुरु भएको छ । दाना, दरवाङमा सबस्टेशन र कालीगण्डकी करिडोरको विद्युत प्रशारण लाईन निर्माणमा भएको ढिलाइको असर म्याग्दीमा निजी क्षेत्रले निर्माण गर्न लागेका जलविद्युत आयोजनामा परेको हो । सबस्टेशन र प्रशारण लाईन निर्माणको काम सुरु भएकाले प्रक्रियामा रहेका आयोजनाले गति लिने तथा लगानीकर्ता आकर्षित हुनेछन् ।म्याग्दीमा थुप्रै पर्यटकिय, धार्मीक र ऐतिहाँसीक स्थलहरु छन् । त्यहाँ पूर्वाधार निर्माण र प्रचारप्रसारको कमी मुख्य समस्या छ । पर्यटकीय सम्भावना बोकेका ठाउँसम्म पुग्ने पदमार्ग, होटल लगायत अन्य पूर्वाधार सुबिधा निर्माण गर्न सरकारी निकाय, निजी क्षेत्र र समुदायले हातेमालो गरेर अघि बढ्नुपर्ने बेला आएको छ । मनोरम प्राकृतीक स्थलहरुको प्रचारप्रसारमा जोड दिनुपर्छ । पर्यटकीय स्थलहरुमा खड्कीएको अभाव र असुरक्षालाई सबै मिलेर अन्त्य गर्नुपर्छ ।٠जलविद्युत र पर्यटनको क्षेत्रमा निजी क्षेत्रको लगानी भित्र्याउन र बढाउन उद्योग वाणिज्य संघले कस्तो पहल गरेको छ ?
लगानी भित्र्याउन संघको पहलले मात्र पुग्दैन । राज्य र समुदायको साथ चाहिन्छ । बाह्य लगानी भित्र्याउने सम्भावना कम छ । प्रवासी म्याग्देलीहरुलाई पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गर्न हामीले पहल गरिरहेका छौ । मोनासंग यसको विषयमा छलफल भएको छ । महँगी र भौगोलिक बिकटताका कारण म्याग्दीमा भित्र्ने रेमिट्यन्स अनुत्पादनशिल क्षेत्रमा खर्च भैरहेको छ । भोज र मोजमा रेमिट्यन्सको धेरै हिस्सा खर्च हुने दःुखद अवस्था छ । यसलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्छ । सरकारले उपयुक्त नीति बनाएर रेमिट्यन्सलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्छ । सरकारले एकिकृत रुपमा रेमिट्यान्सलाई उत्पादनमुलक परियोजनामा लगानी गर्ने नीति बनायो भने अरबौ रकम भित्र्न्छ । युवा साथीहरु गाउँ सुनसान बनाएर बिदेशीरहेका छन भने हाम्रा खेतीयोग्य उर्वर जमिन बाँझीने समस्या बढ्दो छ । आफूलाई पुग्ने तरकारी र खाद्यान्न आफै उत्पादन गर्नसक्यो भने पनि धेरै हदसम्म आयात घट्छ । अब बन्ने योजना तथा कार्यक्रम विकास र गाउँमुखी हुनुपर्छ । जमिन बाँझो राख्ने समस्या नियन्त्रण गर्न सरकारी निकायले पहल गर्नु आवश्यक छ । काम गर्न चाहने कृषकहरुलाई बैङ्क, वित्तिय र सहकारी संस्थाले सहज रुपमा ऋण लगानी गर्नुपर्छ । यसो भयो भने रोजगारी सिर्जना र जसरी रेमिट्यान्स भित्रन्छ त्यसरीनै बाहीरीने समस्या कम हुन सक्छ ।
٠म्याग्दीको आर्थिक संमृद्धिका लागि निजी क्षेत्रको योजना के छ ?
आर्थिक संमृद्धिका लागि हामीलाई सबैभन्दा पहिले दक्ष र योग्य जनशक्ति आवश्यक छ । युवाहरुलाई स्थानीय स्तरमै स्वरोजगार बन्ने वातावरण र रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । परम्परागत रुपमा लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दी अहिले पनि धेरै बैदेशिक रोजगारमा जाने जिल्लाको रुपमा चिनिएको छ । जडिवुटी, कृषि र पशुपालनलाई व्यवसायिक रुपमा अघि बढाएर युवाहरुलाई रोजगारी दिन सकिन्छ । करोडौ मूल्यका जडिवुटी पहिचान र संरक्षण हुन नसकेर खेर गैरहेको छ । अबैध बाटोबाट निकासी पैठारी भएको छ । बिचौलीयाले बहुमूल्य जडिवुटीलाई कौडीको भाउमा किनबेच गरिरहेका छन् । यसलाई नियन्त्रण गर्न राज्यका निकायहरु सचेत र समुदायलाई परिचालन गर्न आवश्यक छ । दिर्घकालीन रुपमा जलविद्युत र पर्यटन क्षेत्रमा पनि युवाहरुलाई रोजगारी दिन सकिन्छ । लाईसेन्स ओगटेर बसेका जलविद्युत कम्पनी र व्यक्तिहरुलाई कारबाही गरेर काम गर्नेलाई दिनुपर्छ । यसो गरेको खण्डमा जलविद्युत आयोजना छिटो बन्छन् । युवाहरुले रोजगारी पाउछन् । म्याग्दीका धेरै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसंगै पुर्वाधार निर्माणमा उद्योग वाणिज्य संघले पहल गरिरहेको छ । बेनी बजारमा भित्र्ने पाहुनाहरुका लागि स्तरीय सुबिधा भएका होटलहरुको आवश्यकता महशुस गरेर होटल व्यवसायमा लगानी र सुबिधा बढाउन निजी क्षेत्रले सक्रियता देखाएको छ । ठुला उद्योग खोल्न कम सम्भावना भएको म्याग्दीमा स्थानीय कच्चा पदार्थमा आधारीत उद्योग, पशुपालन, तरकारी, आलु खेती र घरेलु उद्योगको विकास गरी रोजगारी सिर्जना, आयआर्जन वृद्धीसंगै जिल्लालाई सम्बृद्ध बनाउन सकिन्छ ।
٠म्याग्दीमा ब्यापार व्यवसाय गरिरहेकाहरुले व्यवसाय दर्ता नगरेको र दर्ता भएका दुई सय भन्दा बढी व्यवसाय नविकरण नहुँदा निस्कृय रहेको घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्क छ । के कारणले यस्तो भएको हो र यो समस्या समाधान गर्न के गर्दै हुनुहुन्छ ?
नयाँ व्यवसायी साथीहरु दर्ता गर्ने क्रममा हुनुहुन्छ । कर नतिर्ने हिसावले दर्ता गर्नुभएको होइन् । तयारी नपुगेको र अनविज्ञताका कारणले व्यवसाय दर्ता गर्न नसकेका व्यवसायीहरुलाई उद्योग वाणिज्य संघले सहजिकरण गरेर प्रोत्साहन गरेको छ । सदरमुकाममा नयाँ र अन्य क्षेत्रका व्यवसायीहरु बिस्तारै दर्ता हुनुहुन्छ । सरकारको झञ्झटिलो नीतिका कारण म्याग्दीमा मात्र होईन देसभरीनै धेरै व्यवसायी नविकरणबाट बञ्चित भएका छन् । अतिरित्त जरिवाना तिरेर पनि नविकरण गर्न सकेका छैनौ । यो राष्ट्रिय समस्याको विषयमा उद्योग विभागका महानिर्देशकलाई भेटेर अवगत गराई समाधानका लागि पहल थालेका छौ । पेशा परिवर्तन गर्ने, नविकरण नगर्दा चर्को जरिवानामा परिन्छ भन्ने ज्ञानको कमी र बिकटताले गर्दा नविकरण गर्न नसकेको व्यवसायीलाई पत्र र अन्य माध्यमबाट सहजिकरण गरिरहेका छौ ।
٠बेनी बजारमा सिसीटिभी क्यामेरा जडान गर्ने योजना कसरी अघि बढेको छ ?
भौगोलिक हिसावले साघुरो रहेको बेनीमा धेरै नाका रहेको र सामरिक हिसावले महत्वपूर्ण छ । सदरमुकाम भएकाले विभिन्न बैङ्क तथा वित्तिय संस्था, व्यवसायिक घरना, शैक्षिक संस्थाको सुरक्षा र संरक्षण गर्नुपर्ने आवश्यकता छ । अप्रिय घटना भएको अवस्थामा पछुताउनु बाहेक अन्य विकल्प नभएको महशुस गरि उद्योग वाणिज्य संघको पहलमा सिसीटिभी क्यामेरा जडान गर्ने विभिन्न चरणमा भएको छलफलले सार्थकता पाउँदैछ । प्रहरी कार्यालयले निगरानी गर्ने गरि महत्वपूर्ण स्थानहरुमा दसै तिहार अघिनै सिसीटिभी क्यामेरा जडान सुरु गर्ने र आवश्यकता अनुसार यसलाई विस्तार गर्ने योजना छ । अहिले हामीले आर्थिक स्रोत जुटाउने काम गरिरहेका छौ । केही स्रोत जुटीरहेको छ । बैङ्क, वित्तिय, सहकारी संस्था र व्यवसायिक घरनाको सहयोग लिएर बेनीको २२ देखि २६ वटा ठाउँमा सिसीटिभी क्यामेरा जडान गर्ने योजना छ । सिसीटिभी क्यामेरा जडान गरेपछि बेनीको सुरक्षा अवस्था थप सुदृढ हुने र आपराधीक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरेका छौ ।
समय, सूचना र बिचारका लागि यहाँलाई धन्यवाद ।
यहाँहरुलाई पनि धन्यवाद ।
नवविकल्प विशेषाङकबाट