ताजा समाचार:
Search

आविष्कार केन्द्रको लागि म्याग्दीमा सहयोग संकलन सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ४ भदौ ।
राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि म्याग्दीमा समुदाय स्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ ।

विज्ञान, प्रबिधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले स्थापना हुन लागेको केन्द्रलाई सहयोग जुटाउन अभियान सुरु भएको हो । पहिलो दिनमै ४१ जनाबाट चार लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ ।DSC03112म्याग्दी उद्योग वाणिज्य संघले शनिबार बिहान बेनीमा आविस्कार केन्द्रका अभियन्ता महाविर पुनसंग अन्तरक्रियाका लागि आयोजना गरेको कार्यक्रममा सहभागिहरुले स्वफूर्त रुपमा सहयोग घोषणा गरेका हुन् ।

चार लाख रुपैयाँ सहयोग घोषणा भएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो । सहयोग घोषणा गरेकाहरुलाई ईसेवा नेपाल संस्थाको खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।13987476_1718953741699932_2398159583314681199_o

14067755_1718953811699925_1083765656165426761_o14067916_1718953711699935_760142266758664204_o

उद्योगी, ब्यापारी, राजनितिकर्मी, कर्मचारी, शिक्षक, सर्वसाधारणहरुले राष्ट्रिय आविस्कार केन्द्र स्थापना गर्ने पुनको योजनाप्रती सर्मथन जनाउदै चन्दा सहयोग गरेका हुन् । अभियन्ता पुनले खोज, अनुसन्धानको माध्यमबाट देशको विकासमा सघाउने उद्देश्यले आविश्कार केन्द्र स्थापना गर्न लागिएको बताउनुभयो ।

सरकारी निकायबाट आश्वासन मात्र पाएको र धेरै समय झुलाउने काम भएको गुनासो पोख्दै पुनले जनताको सहयोगमा केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाउनुभयो । केन्द्र स्थापनाका लागि पुनले कास्कीको बेगनासमा रहेको तिन करोड रुपैया मूल्य पर्ने तिन सय रोपनी जग्गा दान गर्ने घोषणा गर्नुभएको छ ।

म्याग्दीको राम्चे २ नांगीमा जन्मनुभएका पुनले विगत २५ वर्षदेखि नेपालको ग्रामिण क्षेत्रमा वेतारे प्रबिधिको ईन्टरनेट पुहँच विस्तार गर्ने अभियानमा सक्रिय हुनुहुन्छ । उहाँ सन २००७ मा रोमन म्यागासेसे पुरस्कारबाट सम्मानीत हुनुभएको थियो । पुरस्कारको रकम, चन्दादाताको सहयोगबाट उहाँले ग्रामिण बस्तीमा सूचना प्रबिधिको पहुँच विस्तारको काम गर्दै आउनुभएको छ ।

पुनको प्राबिधिक सहयोगमा जिविस, समुदाय, प्रवासी म्याग्देली र दुरसञ्चार प्राबिधिक कोषको लगानीमा म्याग्दीका सबै बस्तीमा ईन्टरनेट सेवाको पहुँच पु¥याउने योजना सञ्चालन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माको अध्यक्षता र बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले समापन गर्नुभएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन महासचिव राजेश शाक्यले गर्नुभएको थियो ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, पुर्व सांसद गोविन्द पौडेल र राजनितिक दलहरुको तर्फबाट नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठले मन्तब्य व्यक्त गर्दै राष्ट्रिय आविस्कार केन्द्र आवश्यक रहेको बताउँदै त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।