वस्ती संरक्षणका लागि धाइरिङमा नहर निर्माण

वस्ती संरक्षणका लागि धाइरिङमा नहर निर्माण
ठाकुरप्रसाद आचार्य
म्याग्दी,जेठ २१ गते ।


जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यानको वस्ती संरक्षणका लागि बाढी नियन्त्रण गर्न नहर निर्माण गरिएको छ । गाउँ देखि माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने कुलो सहितको बाढीले सल्यानको वस्तीलाई जोखिममा पारेपछि बाढी नियन्त्रणका लागि वैकल्पिक नहर निर्माण गरिएको हो ।


ठोटनेरी,धारापानी,गुन्टेखेत हुँदै बग्ने बुढीकुलोका कारण सल्यान गाउँ बाढी र पहिरोको जोखिममा परेपछि गाउँपालिकाले चालु आर्थिक वर्षमा वस्ती संरक्षण योजना संचालन गरेको थियो । गाउँपालिकाले विनियोजन गरेको ३५ लाख २० हजार रुपियाँ लगातमा बाढी नियन्त्रण गर्न तीनसय पचास मिटर निर्माण गरेको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले बताउनुभयो ।

#ADD


योजना कार्यान्वयनका लागि गाउँपालिकाले गत माघ ७ गते जेठ मसान्त भित्र निर्माण सम्पन्न गर्न उपभोक्ता समिति सँग योजनाको सम्झौता गरेको थियो । बुढीकुलो बाढी नियन्त्रण योजना अन्तर्गत गुन्टेखेतमा कुलो निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर बानियाँले बताउनुभयो ।


गुन्टेखेत गाउँको शिरानबाट सिमन्टेट नहर निर्माण गरेर बाढीलाई लुङ्गदी खोलामा खसाल्ने बनाइएको बुढीकुलो बाढी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष गंगाधर आचार्यले बताउनुभयो । बुढीकुलोमा पानी सँगै आएको बाढीले सल्यानको वस्तीलाई उच्च जोखिममा पारेपछि वस्ती संरक्षणका लागि वैकल्पिक नहर बनाएर पानी र बाढी लुङ्गदी खोलामा जाने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।


गत वर्ष बुढीकुलोमा आएको बाढीका कारण नाथिमारेबाट खसेको पहिरोले सल्यानको भिरकुना र गगनपानीमा घर र खेतीयोग्य जमिनमा क्षति पु¥याएको थियो । बाढी खसेर स्थानीय रुद्रलाल उपाध्या,गिरिधारी पौडेल,महानन्नद पौडेल,माधवप्रसाद पाध्या,नारायणप्रसाद पाध्या,खेमराज पौडेल,दुर्गा पौडेल लगायतको करिब एकसय मुरी धान फल्ने खेत पुरिएको थियो । बाढी सँगै पहिरो खसेर गगनपानीका चार घर उच्च जोखिमा परेका थिए ।

#ADD


मिलनचोक–सल्यान–गुन्टेखेत–घायखेत–धारापानी–ठोटनेरी सडक आयोजनाका कारण गाउँभरीको पानी बुढीकुलोमा जम्मा भएर सल्यानमाथिको डाँडाबाट वस्तीतिर खस्दा गाउँ नै उच्च जोखिमम परेपछि गुन्टेखेतबाट वैकल्पिक नहर निर्माण गरी लुङ्गदी खोलामा पानी फाल्ने व्यवस्था गरिएको वडाध्यक्ष टुंगनाथ आचार्यले जानकारी दिनुभयो ।


बाढी नियन्त्रणका लागि कुलो निर्माण गरेसँगै सल्यानको वस्ती बाढी र पहिरोको जोखिम कम भएको उहाँले बताउनुभयो ।

सल्यान धारापानी सडक अन्तर्गत ठुलो पहिरोमा सडक बगाउने समस्या भएपछि सल्यान–अम्लाए–नाथीमारे वैकल्पिक सडक समेत निर्माण गरिएको उहाँले बताउनुभयो । बाढीले पुरेको खोतीयोग्य जमिनलाई गाउँपालिकाको स्काभेटर परिचालन गरेर बाढी हटाउने,ढुङ्गा हटाउने, सम्माउने र खेती गर्न मिल्ने जमिनका रुपमा तयार पार्ने लागिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *