मल्लाजका बासिन्दाद्धारा पदमार्ग विस्तार

विकल्प न्यूज/बेनी
साउन ३१ गते ।
उत्तरी पर्वतको माझफाँटका बासिन्दाको सक्रियतामा डिलफाँट देखि कोतघर जोड्ने पदमार्ग विस्तार गरेका छन् ।

कालीपुल देखि डिलफाँटसम्म निर्माण भएको पदमार्ग विस्तार गरेर कोतघरसम्म पु¥याउने तयारी भएको हो । बेल्जीयमको विकास नेपाल संस्थाको सहयोगमा यसअघि बेनीदेखि डिलफाँटसम्मको भिरालो र उकालोमा एक हजार तिन सय १५ मिटर रेलीङ सहितको पक्की पदमार्ग निर्माण भैसकेको छ ।Mallaj Padamargaमाझफाँटका बासिन्दाहरुले गाविस कार्यालयको सहयोग, चन्दा संकलन र श्रमदान गरेर यस वर्ष डिलफाँटदेखि थप दुई सय मिटर माथिसम्म पक्की पदमार्ग निर्माण गरेका हुन् । डेढ मिटर चौडाई भएको ढलान गरिएको पदमार्ग निर्माण गर्न तिन लाख ६५ हजार ७५० रुपैया खर्च भएको डिलफाँट कोतघर गोरेटो बाटो निर्माण समितिका अध्यक्ष हवल्दार टेकबहादुर बरुवालले बताउनुभयो ।

माझफाँट गाविस कार्यालयले ९० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको पदमार्ग निर्माण योजनाका लागि स्थानीय बासिन्दा र संघ संस्थाबाट थप दुई लाख ८५ हजार ६ रुपैयाँ चन्दा र ७४ हजार ८०० बराबरको श्रमदान गरेका छन् ।

ठूलो सल्लेरी भिरमुनी वन उपभोक्ता समितिले १५ हजार, वडा न. ७ को वन उपभोक्ता समितिले २५ हजार, कोत पुजा सञ्चालक समितिले सात हजार ७७७ र विभिन्न व्यक्तिहरुबाट एक लाख ४८ हजार १७९ रुपैयाँ चन्दा सहयोग प्राप्त भएको अध्यक्ष बरुवालले बताउनुभयो ।

आगामी वर्ष थप दुई सय मिटर पदमार्ग निर्माण गरेपछि बेनीदेखि मल्लाज कोतघर सिधा, पक्कि र व्यवस्थित पदमार्गले जोडिने उपभोक्ता समितिले जनाएको छ । पदमार्ग निर्माण भएपछि स्थानीय बासिन्दालाई बेनी आउन जान सहज हुनका साथै ऐतिहाँसीक एवं धार्मीक महत्वको मल्लाज कोतमा भक्तजन आगमन बढ्ने अपेक्षा गरिएको छ ।

पदमार्गबाट म्याग्दी बेनी, पर्वत बेनी, माझफाँट, लेकफाँट, बाँसखर्क र राम्चे नांगीका बासिन्दा लाभान्वित भएका उपभोक्ता समितिका सचिव टेकबहादुर जिसीले बताउनुभयो । सो पदमार्गलाई बेनीका बासिन्दाले मर्निङ वाक गर्न समेत प्रयोग गरेका छन् ।