विकल्प न्यूज/बेनी
फागुन ९ गते ।

डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा वन डढेलो व्यवस्थापन सम्बन्धी सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । ‘वन सबैका लागि, सधैँका लागि र डढेलाबाट वन जोगाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने मूल नारासहित सञ्चालित वन डढेलो व्यवस्थापन सचेतना सप्ताह कार्यक्रम समापन गरिएको हो ।
कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै डिभिजन वन कार्यालय म्याग्दीका डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम साताव्यापी भए पनि डढेलो र आगलागीको विरुद्धमा सबैजना सधैँभरी चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले म्याग्दी जस्तो भूपरिवेष्ठित जिल्लामा डढेलो लागेको अवस्थामा त्यसलाई नियन्त्रणमा लिन धेरे गाह्रो पर्ने भएकाले सकभर डढेलो लाग्न नदिनेतर्फ विशेष ध्यान पु¥याउनुपर्ने बताउँदै डढेलो लागिहालेमा त्यसबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक तथा सरकारी वन क्षेत्रमा डढेलो र आगलागी भएको खण्डमा सबै मिलेर डढेलो निभाउनुपर्ने डिभिजनल वन अधिकृत अधिकारीको भनाइ छ । वन डढेलो व्यवस्थापन सम्बन्धी विषयमा आधारित रहेर उहाँले आफ्नो प्रस्तुतीकरण गर्नुभएको कार्यक्रममा प्रकाश माध्यमिक विद्यालय बेनीको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
डिभिजनल वन अधिकृत अधिकारीको अध्यक्षता र वन अधिकृत शान्तिकुमारी शाहीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमित विश्वकर्मा, प्रकाश माविको प्लस टु संयोजक कविराम थापा र विद्यार्थी उपासना थापा मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबीच सप्ताहव्यापी कार्यक्रम अनुसार जिल्लाको ६ वटै स्थानीय तहमा वन डढेलोका विरुद्धमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ । सामुदायिक वन समूहका उपभोक्ताहरु, स्थानीय जनप्रतिनिधि, पालिकाका कर्मचारी र सर्वसाधारणहरुको उपस्थितिमा सामुदायिक वन क्षेत्रमा नै पुगेर डढेलो् नियन्त्रण सम्बन्धी विभिन्न प्रयोगात्मक अभ्यासका कार्यक्रमहरु सञ्चालन गरिएको वन अधिकृत शाहीले जानकारी दिनुभयो । म्याग्दी जिल्लामा वन क्षेत्र ४९ दशमलव ३४ प्रतिशत अर्थात् १ लाख ३ हजार ७ सय २७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
करिब ९० प्रतिशतभन्दा बढी मानवीय लापरवाहीका कारणले गर्दा वन जङ्गल क्षेत्रमा डढेलो र आगलागीका घटनाहरु हुने गरेका छन् । डढेलोबाट मुख्यगरी वन्यजन्तु जनावर तथा चराचुरुङ्गीहरुको वासस्थानमा क्षति, स–साना बोटविरुवा, झाडी, बुट्यानहरु नष्ट, खानेपानीका स्रोतहरुमा समस्या, मानव वस्तीमा आगलागी, बाढीपहिरो र भू–क्षयको जोखिम, वायुमण्डल तथा जलवायु परिवर्तनमा प्रत्यक्ष रुपमा असर पुग्दछ । मानव समुदायले भने खेतबारी तथा पाखो ठाउँ र सामुदायिक वन क्षेत्रमा घाँसखर राम्रो पलाउने भन्दै जानाजान आगो लगाउने गरेको पाइन्छ ।