मालढुङ्गा–बेनी सडक निर्माण अलपत्र पार्ने ठेकेदार विरुद्ध आन्दोलन


विकल्प न्यूज/बेनी
कार्तिक ३ गते ।

निर्माणधिन मालढुङ्गा बेनी सडक अलपत्र पार्ने ठेकेदार विरुद्ध नागरिक आन्दोलन सुरु भएको छ । कालिगण्डकी कोरिडोर अन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने १३ किलोमिटरको सडक निर्माण ठेकेदारले अलपत्र पारेका कारण यात्रुले सास्ती भोग्नुपरेको भन्दै म्याग्दी र पर्वतको जलजलावासीहरु आन्दोलित भएका छन् ।


सडक निर्माणलाई तत्काल सुरु नगरे उक्त सडकमा सरकारी गाडीहरु संचालनमा बन्द गर्ने सम्मको कार्यक्रम तय गरिएको दबाबमुलक आन्दोलनको नेतृत्व गर्नुभएका अनेरास्ववियुका केन्द्रिय सचिव प्रकाश पौडेलले बताउनुभयो ।


शुक्रबार म्याग्दीका प्रमु्ख जिल्ला अधिकारी गुरुदत्त ढकालको अगुवाईमा भएको सरोकारवालाहरुको वैठक बसेको थियो । वैठकमा कालिगण्डकी कोरिडोर सडक आयोजनाका प्रमुख ध्रुव झा सहित ठेकेदारका प्रतिनिधि र जलजलाका जनप्रतिनिधि,विभिन्न युवाक्लवहरुमा आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।


वैठकमा आयोजना प्रमुख झाले सार्वजनिक खरिद ऐनको १३औँ संशोधन अनुसार अन्तिम पटक थपिएको ठेक्काको म्याद २०८१ असोज ३० गते सकिएको जानकारी गराउनुभएको थियो । विसं २०८० असोजमा म्याद सकिएको यो सडक योजनाको २०८१ असोज महिनासम्मका लागि ठेक्काको पछिल्लो पटक थपिएको म्याद पनि गत असोजमा सकिएको उहाँले बताउनुभयो ।


योजनाको अहिले सम्मको भौतिक प्रगति ६२ प्रतिशत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सडक निर्माणमा ठेकेदारको लापरबाही देखिएको छ । यो ठेकेदारबाट काम गर्न कठिन छ । आयोजनाले जति दबाब दिएपनि सुनुवाई गर्दैन ।’’
तेह्र किलोमिटर दुरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विस २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।


सडक निर्माणमा ढिलाई हुँदा यातायातका साधन सञ्चालन र यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘‘साँघुरो सडकको खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएकाले के कति कारणले सडक निर्माण अलपत्र परेको हो ? समस्या के हो ? समाधान के छ ? जस्ता कारणहरुको खोजी गरेर सडक निर्माणलाई तत्काल नथाले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दछौं,’’ आन्दोलनको नेतृत्व गर्नुभएका पौडेलले भन्नुभयो ।


बेनी–मालढुङ्गा सडकको दुरावस्थाका कारण म्याग्दी र मुस्ताङ आवतजावत गर्ने यातायातका साधनले सात किलोमिटर बढी घुमाउरो मालढुङ्गा–बागलुङ–बेनी सडक प्रयोग गर्न बाध्य छन् ।


समयमा सडक स्तरोन्नति नहुँदा महँगो ढुवानी र यातायात भाडादरको मारमा सर्वसाधारण परेको उहाँको भनाई छ ।
सडक फराकिलो, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको मालढुङ्गादेखि फर्सेसम्मको पाँच किलोमिटर दूरिमा कालोपत्रका लागि सब बेस बिछ्याएको छ ।


विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्साहरुमा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्सेदेखि लामाखेत खण्डमा फराकिलो बनाउने, नाली र पर्खाल निर्माण सुस्त रहेको जलजला गाउँपालिका–८ का वडा अध्यक्ष हरिविकास जिसीले बताउनुभयो । सडक निर्माण अलपत्र परेका कारण सडकमा उडेको धुलोका कारण छेउछाउको वस्तीमा वस्ने सर्वसाधरणहरुको स्वास्थ्यमा गम्भिर असर पुगेको उहाँको भनाई छ ।


आयोजनाका प्रमुख सडक निर्माण स्थल नजिक बसेर दैनिक रुपमा अनुगमन र निरिक्षण गर्नुपर्ने जलजला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताउनुभयो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभावको कारण देखाएर विंस २०७९ कात्तिक देखि सडक निर्माणलाई सुस्त बनाएका थियो ।
ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न विंस २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो ।


सडकमा रहेका विद्युतको पोल स्थानान्तरण नभएको, सडकको क्षेत्राधिकारको घरटहराको क्षतिपूर्ति वितरण र भत्काउन ढिलाइ भएको तथा नदीजन्य निर्माण सामग्रीको अभावलाई निर्माण व्यवसायीले कारण देखाएपनि गाउँपालिकाले सहजिकरण गर्ने वडाध्यक्ष क्षेत्रीको भनाई थियो ।


छलफलमा निर्माणलाई गति दिने प्रतिबद्धता जनाएका प्रजिअ ढकालले बताउनुभयो । विद्युतका पोल सार्ने र घरटहराको क्षतिपुर्ति वितरणको काम अन्तिम चरणमा पुुगेको आयोजनाले जनाएको छ ।बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले कालीगण्डकीको नदीजन्य पदार्थ प्रयोग गर्न नपाए म्याग्दी नदीबाट लगेर भएपनि काम गर्न आग्रह गर्नुभयो ।


‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएपनि दुईवर्षमै सडक भत्किएर जिर्ण बनेको थियो ।


मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो । सडकको ट्रयाक खोलेको करिब ३० वर्ष वितिसक्दा पनि छोटो दुरीको यो सडक स्तरोन्नति नहुँदा म्याग्दीका जनप्रतिनिधि र राजनीतिक दलको चर्को आलोचना हुने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *