बेनी नगरपालिकाले मनायो राष्ट्रिय शिक्षा दिवस

विकल्प न्यूज/बेनी
असोज २ गते ।

म्याग्दीको बेनी नगरपालिकाले विविध कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस मनाएको छ । ’ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ बेनी सामुदायिक माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरि दिवस मनाएको हो ।

शिक्षा दिवसको मूल समारोह नगर प्रमुख सुरज केसिको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो । कार्यक्रम बोल्दै नगर प्रमुख केसीले विद्यालय शिक्षा सुधार गर्नको लागि राज्य र नगरपालिकाले ठूलो लगानी गरेको बताउनुभयो । उहाँले राज्यले बनाएको शिक्षा नीतिलाई व्यवहारिक कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । विद्यार्थीलाई पढाईको साथसाथै अन्य ज्ञान, सिप र कला सिकाउनका लागि बेनी नगरले यहाँका सामुदायिक विद्यालयहरुमा पढदै सिक्दै कार्यक्रम लागु गरेको उल्लेख गर्नुभयो ।

शिक्षा दिवसकै अवसर पारेर भाद्र ३०, ३१ र असोज १ गते बेनी नगरपालिका शिक्ष्षा शाखाले आयोजना गरिएको आधाभूत तह चित्रकला प्रतियोगिता, वक्तृत्वकला र हाजीरीजवाफ प्रतियोगितामा सहभागी भई प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, शिक्षा उपसचिव हेमचन्द्र पौडेल, शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रुमख दल बहादुर थापा, बेनी नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ७ का वडा अध्यक्ष रमेश श्रेष्ठ, वडा नम्वर ९ का वडा अध्यक्ष चक्र केसी, प्रकाश माविका प्रअ लेख बहादुर हमाल, दिपका माविका प्रअ विष्णु ढुंगाना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भने नगरपालिका भित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउन थालेको हो ।

विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकोमा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *