ठाकुरप्रसाद आचार्य
म्याग्दी,भदौं ८ गते ।
काउली खेतीमा काम गर्दै बाबुराम रेग्मी र उहाँको परिवार । तस्विर ठाकुरप्रसाद आचार्य
पर्वतको जलजला गाउँपालिका ६ सालिजाका बाबुराम रेग्मीले तरकारी खेती गरेर जेठो छोरालाई इन्जिनियर र कान्छोलाई कृषि प्राविधिक बनाउनुभएको छ ।
रोजगारीका लागि दश वर्ष विदेशमा भौतारीनुभएका रेग्मीले गाउँ फर्किएर बुबाले अंगालेको कृषि कर्मलाई जीवन धान्ने पेसाका रुपमा रोज्नुभयो । कृषि पेसा गरेर बाबुरामले घरपरिवारको खर्च चलाउनुका साथै लाखौं रुपियाँ खर्चिएर दुई छोराहरुलाई प्राविधिक शिक्षामा अब्बल बनाउनुभयो । कृषि पेसाबाट परिवारको आर्थिक समृद्धि प्राप्त गर्नुका साथै र उदाहरणीय व्यक्ति बन्नुभएको छ ।
जेठो छोरालाई सिभिल इन्जिनियरमा स्नातक सम्म पढाएर माष्टर डिग्री पढ्नका लागि हाल बेलायत पठाउनुभएको छ भने कान्छो छोरा रामपुर कृषि क्याम्पसबाट कृषि प्राविधिकमा स्नातक गरेर अहिले नेपालमै रोजगारी गर्न थाल्नुभएको छ । छोराछोरीलाई पढाउने खर्च जुटाउन विदेश नै जानुपर्दछ,स्वदेशमा केही छैन,भन्नेका लागि बाबुरामको प्रगतिले गतिलो जवाफ दिएको छ ।
‘‘उहाँको कृषि पेसा लोभलाग्दो छ । कृषिमा केही छैन भन्नेका लागि बाबुरामको कृषि पेसाले गाउँमा आशा जगाएको छ । परिश्रमी र लगनशिल बाबुराम युवाहरुका लागि प्रेरणा बन्नुभएको,’’ नेकपा एमाले सालिजा वडा कमिटीका अध्यक्ष डिलनाथ सापकोटाले बताउनुभयो ।
करिब १५ रोपनी खेतबारीमा बेमौसमी तरकारी खेती गर्नुभएको छ । ‘‘काँक्रा बजार लैजाने भएका छन्, दैनिक रुपमा पचास केजी उत्पादन हुने गरेको छ, काउली र बन्दाका विरुवा भर्खर रोपेको छ,’’ उहाँले भन्नुभयो । रेग्मीलाई तरकारी खेतीको काम गर्न श्रीमती र बुबाले पनि सघाउनुहुन्छ ।
बर्खे आलु लगाएर पाँचलाख रुपियाँ आम्दानी गरेको बताउँने बाबुरामले बार्षिक रुपमा १० देखि १५ लाख रुपियाँ सम्मको तरकारी बिक्री गर्नुहुन्छ । दशमुरी धान उत्पादन हुने खेतमा उहाँले गोल्डेन जातको किबी पनि लगाउनुभएको छ । किबी खेतीबाट वार्षिक रुपमा दुई देखि तीन लाख रुपियाँ सम्म आम्दानी गर्ने सोच उहाँले बनाउनुभएको छ । गाउँपालिकाले उहाँलाई अनुदानमा किबीका विरुवा उपलब्ध गराएको थियो ।
मेरो अन्य आम्दानीको स्रोत केही थिएन, तरकारी बेचेर छोराहरुले रोजेको विषय पढाएँ बाबुरामले भन्नुभयो, ‘‘विदेश छाडेर गाउँ फर्किदा छरछिमेकले गाली गरेका थिए । छोराहरु पढ्ने भएका छन् । राम्रो पढाउन धेरै पैसा खर्च हुन्छ । विदेश फर्क भन्थे । तर छिमेकीको सल्लाह मानिन । यही पेसाबाट छोराहरुलाई राम्रो सँग पढाउन सफल भएँ । उबेला गाली गर्ने छिमेकीहरु अहिले प्रशंसक बनेका छन् ।’’ बेमौसममा उत्पादन गरे बजारको समस्या पनि नहुने र राम्रो मूल्य पाउने उहाँको अनुभव छ ।
आफूले अंगालेको पेसा रोजेर छोरा गाउँकै नमूना कृषक भएकोमा बुबा कलाधर रेग्मी पनि खुसी हुनुहुन्छ । उबेला मैले पनि तरकारी खेतीबाट छोराहरुलाई अक्षर चिनाएको हुँ कलाधरले भन्नुभयो, ‘‘छोरा कृषि पेसामा अब्बल भएको देख्दा मनमा खुसी र आत्म सन्तुष्टी मिलेको छ । तरकारी खेतीको आम्दानीले नातीहरुले राम्रो विषय लिएर पढेँ । बाउबाजेले अंगालेको कृषि पेसाले राम्रो गरेकाले नछाड भनेको छु ।’’
त्यसबेला अहिलेको जस्तो सडक यातायातको सुविधा नभएकाले तरकारी डोकोमा बोकेर बेनी,बागलुङ र कुस्मा सम्म पु¥याएको उहाँले सुनाउनुभयो । ‘‘पहिला गाडी थिएन । डोकामा तरकारी बोकेर लैजानु पर्ने थियो । तरकारी बोकेर बागलुङको ओढारचौर पुग्दा उज्यालो हुन्थ्यो,’’ कलाधरले भन्नुभयो, ‘‘मैले पनि तरकारी खेती गरेर छोराहरुलाई पढाएँ । छोराले गरेको तरकारी खेतीको आम्दानीले नातीहरु इन्जिनियर र कृषि प्राविधिक बने ।’’
बर्खायाममा सडक अवरुद्ध हुँदा गाउँमा उत्पादन भएको तरकारी बजार सम्म पु¥याउन नसकेर परिश्रम खेर जाने गरेको कृषक रेग्मीले बताउनुभयो । कृषि पेसामा लागेका परिश्रमी किसानहरुलाई गाउँपालिकाले पचास प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने गरेको जलजला गाउँपालिकाका कृषि शाखा प्रमुख राजु गौतमले बताउनुभयो ।