ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन २४ गते ।
म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा भत्तजनहरुले चढाएको भेटीको रकम करिब साढे चारकरोड नाघेको छ । गत असार मसान्त सम्म चार करोड ४१ लाख २५ हजार दुईसय २२ रुपियाँ बचत भएको छ ।
पछिल्ला एक दशक यता गलेश्वरधाममा भक्तजनहरुको आगमन बढेकाले भेटीको रकम वृद्धि हुँदै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षमा मात्र एक करोड ७६ लाख ४० हजार आठ सय ८४ रुपियाँ भेटीको रकम संकलन भएको छ । गत आर्थिक वर्षको साउन देखि असार मसान्त सम्म गलेश्वर मन्दिरमा उक्त आम्दानी भएको हो ।
गत आर्थिक वर्षमा सबै भन्दा बढी मण्डप भेटीबाट ३८ लाख ६१ हजार ६ सय ९३ रुपियाँ गलेश्वर शिवालयलाई आम्दानी भएको छ । साउन महिनाको सोमबार,बालाचर्तुदशी पर्व र शिवरात्री पर्व गरेर १९ लाख ७८ हजार ८ सय १८ रुपियाँ एकवर्षको अवधिमा संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
यसैगरी कोषले दिएको जानकारी अनुसार यज्ञ दर्ता शुल्कबाट ४ लाख १३ हजार ६ सय ६७,यात्री निवास शुल्क ५ लाख ७७ हजार ६ सय ६५,ब्याज आम्दानी ८९ लाख ६९ हजार ५ सय ६६,दान दातव्य ५५ लाख २२ हजार एकसय ४३ र शिवालयमा भक्तजनहरुले चढाएको जिन्सी सामान बिक्रीबाट ६ लाख २८ हजार ८ सय २५ रुपियाँ संकलन भएको छ ।
पार्किङ शुल्क ११ हजार सातसय ५० र विभिन्न स्टलहरु भाडामा लगाएर ६ लाख ७६ हजार ६ सय ८५ रुपियाँ गलेश्वर शिवालयले एकवर्षको अवधिमा आम्दानी गरेको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।
गत साउन महिना देखि असार मसान्त सम्मको विभिन्न शिर्षकमा ८० लाख ३५ हजार ९ सय ११ रुपियाँ खर्च कटाएर गलेश्वर मन्दिरको एकवर्ष अवधिमा ९६ लाख ४ हजार ९ सय ७२ रुपियाँ कुल आम्दानी भएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।
गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । शिवालय मन्दिरमा भक्तजनहरुले चढाएको भेटी र अन्य सहयोगलाई पारदर्शी रुपमा व्यवस्थित गरेकाले सहयोगदाताहरुले खुलेर सहयोग गर्न थालेको कोषका अध्यक्ष रेग्मीको भनाई छ ।
शिवालयको आम्दानीबाट गत आर्थिक वर्षमा ज्येष्ठ नागरिक सभाहल बनाउन १५ लाख,जडभरत शालग्राम सस्कृत माविलाई ५ लाख र गलेश्वर बजारमा सि.सि टिभी जडान गर्न एकलाख ४३ हजार सहयोग गरेको कोषका कार्यालय सचिव बानियाँले जानकारी दिनुभयो ।
भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १३ वर्षको अवधिमा करिब ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
धर्मशाला, सभाहल, बाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने पदमार्ग, १०८ शिवलिङ, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति,कालिगण्डकीको पानीलाई तानेर एकसय ८ धारा स्थापना लगायत भौतिक संरचना निर्माण गरिएको छ । भौतिक संरचना निर्माणका साथै पछिल्लो एक दशक यता कोषको बचत रकममा पनि बृद्धि हुँदै गएको कोषले जनाएको छ ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वरधामलाई मुक्तिनाथको प्रवेशद्धारका रुपमा समेत लिने गरिन्छ । गलेश्वरधाममा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा भक्तजनहरु ठूलो संख्यामा आउने गर्दछन् । पछिल्लो समय भारतीय भक्तजनहरु पनि गलेश्वरको दर्शन गर्न उल्लेख्य मात्रामा आउने गरेको कोषले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।