ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन २२ गते ।
जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका कृषकले काँक्राको बिउ उत्पादन गरेर गाउँमा दुईकरोड रुपियाँ भन्दा बढी भिœयाएका छन् । यहाँका करिब ७० घरधुरीले बिउ उत्पादनका लागि भक्तपुर लोक्कल जातको काँक्रो खेती गरेका थिए । यसवर्ष गाउँमा सबै भन्दा धेरै उत्पादन गर्ने कृषकमा नवराज आचार्य हुनुहुन्छ । उहाँले काँक्राको बिउ उत्पादन गरेर करिब दश लाख रुपियाँ कमाउनुभएको छ ।
यसवर्ष गाउँमा करिब दुईहजार केजी भन्दा बढी काँक्राको बिउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले बताउनुभयो । गत वर्ष भन्दा काँक्राको बिउले यसपटक राम्रो मुल्य पाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गत वर्ष प्रतिकेजी पाँचहजार देखि ६ हजार रुपियाँ सम्ममा बिक्री भएकोमा यसपाली मुल्य बढेर दश हजार देखि दश हजार पाँचसय रुपियाँ सम्ममा बिक्री भयो ।’’ व्यवसायीहरु गाउँमै आएर बिउ खरिद गरेको उहाँको भनाई छ । काक्राको बिउ बिक्री गरेर यस वर्ष थोरैमा तीन लाख धेरै आम्दानी गर्नेले दश लाख रुपियाँ सम्म आम्दानी गरेको उहाँको भनाई छ ।
राम्रो मौसम परेकाले यसपाली सल्यानको फाँटमा काँक्राको बिउ उत्पादन राम्रो भएको कृषक बलराम आचार्यले बताउनुभयो । कृषक आचार्य बताउनुहुन्छ, ‘‘गत वर्ष ४० केजी उत्पादन भएकोमा यो वर्ष ७५ केजी उत्पादन गरेँ । प्रतिकेजी दशहजारका दरले बिक्री गर्दा सातलाख पचास हजार रुपियाँ आम्दानी भयो ।’’
यहाँ उत्पादन भएको काँक्राको बिउ संकलन गरेर एक हजार केजी काठमाण्डौं स्थित न्यू ग्रेसको सिट सप्लायर्सलाई पठाएको कृषक पौडेलले बताउनुभयो । पौडेलका साथै वडाध्यक्ष टुंगनाथ आचार्य,गोपाल आचार्य,इन्द्र पौडेलले गाउँमा उत्पादन भएको बिउ संकलन गरेर बिक्रीका लागि काठमाण्डौं,पोखरा र बेनी पठाउने गर्दछन् । नवराज शर्माले यस वर्ष गाउँभरीमा सबै भन्दा धेरै ९७ केजी काँक्राको बिउ उत्पादन गरेर नौ लाख ७० हजार रुपियाँ आम्दानी गर्नुभएको छ ।
उत्पादन भएको बिउले राम्रो मूल्य पाएपछि किसानहरु उत्साहित भएका छन् । यहाँ किसानले २० वर्ष देखि निरन्तर रुपमा काँक्रो र गोलभेडाको बिउ उत्पादन गरेर गाउँमा दुई देखि तीन करोड रुपियाँ सम्म वर्षेनी भिœयाउने गरेका छन् ।
पछिल्ला केही वर्ष यता काँक्रो र गोलभेडाको बिउले राम्रो मुल्य पाउन थालेपछि विदेश पुगेका युवाहरु समेत गाउँ फर्किएर कृषि खेतीमा लागेको युवा किसान टेकनारायण आचार्यले बताउनुभयो ।
तरकारी र बिउ उत्पादनको पकेट क्षेत्र रहेको धाइरिङका किसानहरुले व्यवसायिक रुपमा ताजा तरकारी उत्पादन गरेर पनि राम्रो आम्दानी लिने गरेका छन् । यहाँ उत्पादन भएको तरकारी बेनी,मुस्ताङ,बागलुङ,कुस्मा र पोखरा सम्म पुग्ने गर्दछ । ताजा तरकारी र बिउ उत्पादन गरेर यहाँका किसानहरुको जीवनस्तरमा सकरात्मक परिवर्तन भएको वडाध्यक्ष टुंगनाथ आचार्यको भनाई छ ।