विकल्प न्यूज/बेनी
साउन १७ गते ।
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर स्थित उपाल्लाचौरका कृषक लोकबहादुर थापा मगरले यसपाली असारको दोस्रो हप्तामै धान रोपाई सक्नुभएको छ । तीन वर्ष अघि देखि सुरु भएको उपल्लाचौर सिंचाई योजना सम्पन्न भएर ढोडेनी खोलाको पानी खेतमा आएपछि आकासे पानीको भरमा धान रोप्नुपर्ने रत्नेचौरवासीको बाध्यता यसपाली हट्यो । यसपाली रत्नेचौरका किसानले असार महिनामै धान रोपाइँ सकेका छन् ।
यस्तै रत्नेचौरका शंकर महतले पनि असारको तेस्रो साता भित्रनै धान रोपाई सक्नुभयो । २०२३ साले सिंचाई कुलोको मर्मत सम्पन्न भएपछि ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा सहज रुपमा आएपछि रत्नेचौरका किसानहरुले असार महिना भित्रमै धान रोपाई सकेका छन् ।
पहिरो र बाढीले पुरानो कुलाको नहर र मुहान भत्काइदिएको थियो, कृषक महतले भन्नुभयो, ‘‘पहिरोले नहर बगाएका कारण विगतमा सिंचाई गर्न निकै कठिन भएको थियो । आकासे पानीको भरमा सिंचाई गरेर धान रोप्नुपर्ने बाध्यता थियो । अहिले सिंचाई कुलो मर्मत भएको छ,ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा आइपुगेको छ ।’’ ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा ल्याएर सिंचाई गर्न पाएपछि किसानहरु खुसी भएको महतको भनाई छ ।
आर्थिक वर्ष २०८०\०८१ म खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले बेनी नगरपालिका १ रत्नेचौरमा दुईवटा सिंचाई योजना सम्पन्न गरेपछि किसानहरुलाई राहत मिलेको छ ।
चालु आर्थिक वर्षमा २२ लाख रुपियाँ लागतमा २०२३ साले सिंचाई योजनाको मर्मत सम्भार गरिएको कार्यालयका सिंचाई तथा उर्जा शाखाका अधिकृत छैटौं प्राविधिक अन्जन खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार योजनामा एकहजार पाँचसय ७४ मिटर पाइपलाइन,मुहानमा दुईवटा इन्टेक र ३० थान ग्यावियन झाली लगाएर मुहानलाई संरक्षण गरिएको छ ।
कुलो मर्मत भएपछि रत्नेचौर फाँटको करिब २५ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको उपभोक्ता समितिका सचिव ओम रोकाले बताउनुभयो । पाइपलाइन जडान गरिएपछि बर्खाको समयमा नहर बगाउने समस्या हटेको उहाँले बताउनुभयो ।
यस्तै आर्थिक वर्ष २०७८\०७९ बाट थालिएको उपाल्लाचौर सिंचाई योजना पनि गत आर्थिक वर्षमा सम्पन्न भएको छ । योजनामा तीनसय ८० मिटर नहर निर्माण र एकहजार ८२ मिटर पाइपलाइन निर्माण गरिएको कार्यालयका कर्मचारी मोतीलाल बलामीले जानकारी दिनुभयो ।
उपभोक्ता समिति मार्फत सम्पन्न भएको सिंचाई योजना सम्पन्न गर्न पहिलो वर्ष २५ लाख,दोस्रो वर्ष १५ लाख र गत आर्थिक वर्षमा २० लाख रुपियाँ गरी कुल ६० लाख रुपियाँ खर्च भएको बलामीले बताउनुभयो ।
सिंचाई योजना सम्पन्न भएपछि बाह्ैमास सिंचाई सुविधा पुगेको उपल्लाचौर सिंचाई योजनाका उपभोक्ता समितिका अध्यक्ष चन्द्रवीर थापामगरले बताउनुभयो । उहाँका अनुसार सिंचाई योजनाबाट एकसय पचास घरधुरी लाभान्वित भएका छन् । सिंचाई सुविधा भएकाले चाँढै नै धान रोपाई सकिएकाले यस वर्ष धान उत्पादनमा वृद्धि हुने आशा गरिएको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा प्रदेश र संघीय सरकारका गरी जिल्लामा संचालित सिंचाई योजनाबाट ८९ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलक मोहन ओझाले जानकारी दिनुभयो । सिंचाई सुविधा विस्तार पछि आकासे पानीको भरमा सिंचाई गर्नुपर्ने किसानको बाध्यता हटेको र कृषि उत्पादनमा वृद्धि हुने आशा गरिएको उहाँको भनाई छ ।