ठाकुरप्रसाद आचार्य
साउन १६ गते ।
जलजला ७ लामाबगरका बासुदेव आचार्यले बेमौसममा काँक्रो उत्पादन गरेर दुई महिनाको अवधिमा एकलाख भन्दा बढी कमाउनुभएको छ । पाँच रोपनी क्षेत्रफलमा धान खेती नगरेर कामिनी र बेली जातको काँक्रो खेती गर्नुभएका आचार्यले दुईदिनको फरकमा एकसय केजी सम्म काँक्रो उत्पादन हुने गरेको बताउनुभयो । उत्पादन भएको काँक्रो घरबाट नै बिक्री हुने उहाँको भनाई छ ।
विरुवा लगाएको ४५ दिनमा काँक्रो खानका लागि तयार हुने र साढे दुई देखि तीन महिना सम्म उत्पादन दिने उहाँले बताउनुभयो । आचार्य भन्नुह्ुन्छ, ‘‘मैले धान खेती छाडेर काँक्रो खेती गरेको छु । धानबाट भन्दा काँक्रोबाट राम्रो आम्दानी भयो । विरुवा लगाएको ४५ दिनबाट उत्पादन दिन थालेको दुई महिना भइसक्यो अझै राम्रो फलेको छ । एक लाख रुपियाँ सम्मको बिक्री गरे अझै राम्रो फल्दै छ ।’’
उत्पादन भएको काँक्रो बेनी बजारमा प्रतिकेजी ६५ देखि ८० रुपियाँ सम्म बिक्री हुने उहाँले बताउनुभयो । ‘‘बेमौसममा उत्पादन गर्नसके मुल्य पाइन्छ । काँक्रो लिन अहिले बेनीका व्यावसायीहरु घरमै आउँछन् ’’ आचार्यले भन्नुभयो ।
आचार्यले विगत २० वर्षदेखि काँक्रो खेतीका साथै काउली,आलु,गोलभेडा,घिरौला,सागसब्जी लगायतका ताजा तरकारी उत्पादन गर्दै आउनुभएको छ । तरकारी खेतीबाट वार्षिक रुपमा खर्च कटाएर पाँचलाख देखि ८ लाख रुपियाँ सम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।
कृषि पेशामा परिश्रम गर्नसके राम्रो आम्दानी लिन सकिने कृषक आचार्यले अनुभव सुनाउनुभयो । छरछिमेकका साथीहरु विदेश गए मैले कृषि पेशा रोजेँ आचार्यले भन्नुभयो, ‘‘विदेशी भूमिमा पसिना बगाउनु भन्दा गाउँघरमा परिश्रम गर्नुपर्दछ भन्ने सोंच सानै उमेर देखि आयो । बाउबाजे र पुर्खाले गरेको कृषि पेशामा समर्पित भए । यसैमा खुसी र सन्तुष्टि छु ।’’