नेपालको राजनीतिक परिवर्तनमा पुष्पलालको योगदानको चर्चा


विकल्प न्यूज/बेनी
साउन ७ गते ।

नेपालको राजनीतिक परिवर्तनमा पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गरिएको छ । ४६ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमाले म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको ‘‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’’ विषयक विचार गोष्ठीमा बोल्ने वक्ताहरुले हालको राजीतिक परिस्थितिमा पुष्पलालका विचारहरु उत्तिकै सान्र्दभिक भएको बताउनुभएको थियो । उहाँहरुले मुलुक अहिले पनि पुष्पलालको विचारबाट अगाडी बढेको उहाँहरुको भनाई थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र बहादुर थापाले तानाशाही पञ्चायती शासन व्यवस्थाका विरुद्ध प्रजातान्त्रीक र कम्युनिष्ट शक्तिहरुलाई एकआपसमा मिलाएर उहाँले आन्दोलनको सफल नेतृत्व गर्नुभएको स्मरण गर्नुभयो ।


प्रजातान्त्रीक शक्ति काँग्रेस र नेकपा एमाले लगायत बामपन्थी शक्तिहरुको सहकार्यबाट लोकतान्त्रीक गणतन्त्र स्थापना भएको बताउँदै उहाँले अहिले पनि पुष्पलालका विचारहरुले बर्तमान राजनीतिको नेतृत्व गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘लोकतान्त्रीक शासन व्यवस्थालाई थप बलियो,जनमुखी र स्थिर सरकारका लागि अहिले काँग्रेस र एमाले एक ठाउँमा उभिनुपरेको छ । मुलुकमा संकट परेका बेला प्रजातान्त्रीक र बामपन्थी शक्ति मिल्नुपर्दछ भन्ने विचार उहाँकै हो,त्यसैले पुष्पलालको विचारलाई अहिले पनि सबैले सम्मान गर्दछन् ।’’

विचार गोष्ठीमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठ र खुमबहादुर बानियाँले नेपालको राजनीतिक आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्नुभएको थियो ।

जिल्ला पार्टीको कार्ययोजना अनुसार जिल्लाभर विभिन्न कार्यक्रम तथा सिर्जनशिल कामहरु गरेर पुष्पलाल स्मृति दिवस मनाइएको अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।

पार्टी अध्यक्ष सुवेदीको अध्यक्षता र सचिव थमसरा पुनले संचालन गर्नुभएको कार्यक्रममा बेनी नगरपालिकका प्रमुख तथा पूर्व सचिव सुरत केसी, पूर्व उपसचिव तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा,बेनी नगर कमिटिका अध्यक्ष बेलबहादुर कटुवाल,रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष झलक आचार्य, जिसस उपप्रमुख डिलकुमारी खत्री,जिल्ला किमिटीका सदस्यहरु लगायतको विचार गोष्ठीमा सहभागिता रहेको थियो ।
यस्तो छ पुष्पलालको राजनीतिक यात्रा
विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको थियो।

नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्नुभएको थियो ।

विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गर्नुभएको थियो । उहाँ सहिद गङ्गालालका भाइ हुनुहुन्थ्यो ।

व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उहाँले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिनुभएन ।

नेपाली काँग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहनुभयो ।

अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उहाँले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गर्नुभएको थियो ।

नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गर्नुभएका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।