म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

बेनी, १९ चैत ः

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो ।

“उकालो, ओरालोमा हिडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिड्न गाहे भएको थियो,” उहाँले भन्नुभयो “पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयबासीलाई सहज बनाएको छ ।” पदमार्ग बनेपछि बिम र डाडागाउँमा ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

गण्डकी प्रदेशसभा सदस्य तथा निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बजेट बिनियोजन गर्नुभएको योजना पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन भएको हो । पक्की पदमार्ग बनेपछि बालबालिका र जेष्ठ नागरिकहरुलाई आवत जावत र डिडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. ३० लाख बजेटबाट पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष शरणकुमार जुग्जालीले बताउनुभयो ।

“बिम तल्लो गाउँमा ४२५ मिटर र डाडागाउँमा २५० मिटर पदमार्ग बनाएका छौ,” उहाँले भन्नुभयो “तेर्सोमाढुंगा बिछ्याएर र उकालोमा सिढी चिनेर ढलान गरिएको छ ।” १ दशमलब १० मिटर देखि १ दशमलब २० मिटर फराकिलो पदमार्ग निर्माण भएको छ । पदमार्गमा मोटरसाइकल र साइकल पनि हिडाउन सकिन्छ ।

माटे पदमार्गमा बर्षात हुँदा हिलो र सुख्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाई गर्न सहज भएको छ । बिम र डाडागाउँ धार्मिक पर्यटकीय स्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ति हुन् । बिममा किसानी प्राविधिक शिक्षा पनि सञ्चालनमा छ ।

मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजनहरु बसोबास गर्ने बिम र डाउगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । सरसफाईमा नमुना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट बिनियोजन गरेको स्थानीयबासी समेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

जुग्जालीले खारा–बिम सडक स्तरोन्नतिका लागि रु. २० करोड बजेट स्रोत सुनिश्चितता भएको र सो योजनाबाट बिम र गाउँगाउँको बस्ति भित्रको सडकलाई कालोपत्र गरिने बताउनुभयो ।