९० दिनमा सम्पन्न भयो खिबाङ खानेपानी योजना

ठाकुरप्रसाद आचार्य
म्याग्दी,चैत १५ गते ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ गाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । खिबाङ खानेपानी योजना सम्पन्न भएसँगै आँगनमा निर्माण भएको धाराबाट पानी झर्न थालेपछि खिबाङवासी खुसी भएका छन् । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा खिबाङमा हालै मात्र खानेपानी योजना निर्माण भएको हो ।

खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी वितरण हुनथालेपछि एक गाग्री पानी लिन एक घण्टा पैदल हिड्नुपर्ने खिबाङवासीको वर्षौ देखिको बाध्यता हटेको छ । घरको आँगनमै पानी आउन थालेपछि खिबाङबासीहरु खुसी भएको वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

खिबाङमा एक घर एक खानेपानीका धारा योजना अन्तर्गत गोर्खा वेल्फेयर ट्रष्टको ७० लाख र स्थानीयवासीहरुको ३१ लाख बराबरको श्रमदान गरी एककरोड एकलाख रुपियाँमा खिबाङ खानेपानी योजना निर्माण भएको ट्रष्टकी कन्ट्रक्सन इन्जिनियर लिला पुन शेरचनले जानकारी दिनुभयो । उपभोक्ता समिति मार्फत उक्त योजना ९० दिनमै सम्पन्न भएको हो । योजनाहरु अलपत्र पर्ने र वर्षौ सम्म पनि सम्पन्न नहुने समस्याका बीच यहाँका उपभोक्ताको जागरुकताका कारण ९० दिन भित्रै योजना सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘उपभोक्ताको जागरुकता र सक्रियता अनि सम्बन्धित निकायको नियमित अनुगमन भएमा योजना समयभित्रै सम्पन्न गर्न सकिने उदाहरण खिबाङवासीले प्रस्तुत गरेका छन् ।’’

गाउँदेखि साढे ६ किलोमिटर दूरीमा रहेका दुइवटा मुहानबाट पानी ल्याएर ७ वटा ट्याङ्की मार्फत घर घरमा पानी वितरण गरिएको छ । एकसय ३६ वटा निजी र ६ वटा सार्वजनिक स्थलमा धारा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष जयराम विकले जानकारी दिनुभयो । खानेपानी योजना सम्पन्न भएसँगै वर्षौ देखिको खानेपानी समस्या हटेको उहाँले बताउनुभयो । प्रत्येक धारामा मिटर जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

ADV

हामीले वर्षौ देखि धमिलो पानी उपभोग गर्दै आएका थियौं, एक गाग्री पानी लिन एक घण्टा पैदल हिड्नुपर्ने बाध्यता थियो स्थानीयवासी रिना बुदुजाले भन्नुभयो, ‘‘अहिले घरको आँगनमै पानीको धारा बनेसँगै सफा र स्वच्छ पानी पिउन पाएका छौं । पानी लिन टाढा जानुपर्ने समयको बचत भएको छ । धेरै भएको पानीलाई तरकारी खेतीमा सिँचाई समेत गर्न पाएका छौं ।’’

योजनालाई दिगो रुपमा संचालन होस् भनेर मुहान र ट्याङ्कीको संरक्षणमा ध्यान दिइएको ट्रष्टकी कन्ट्रक्सन इन्जिनियर शेरचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले योजनाको गुणस्तरमा कुनै कमि हुन दिएका छैनौं । मुहान देखि पाइपलाइन,वितरण ट्याङ्की र धारा निर्माणमा उच्च गुणस्तर सहित प्रविधिको प्रयोग गरेका छौं ।’’ योजनाको समान्य मर्मत सम्भारका लागि गाउँमै प्राविधिक तयार पार्न योजना निर्माणको अवधिमा स्थानीयहरुलाई समेत सँगै परिचालन गरिएको उहाँको भनाई थियो । योजनाबाट खिबाङका सातसय २० जनसंख्या लाभान्वित भएको उहाँले बताउनुभयो ।

यसैगरी ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयवासीहरुको श्रमदानबाट गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । योजनाबाट छेम्दी टोलका ७२ घरधुरी लाभान्वित भएका छन् ।

वडा नम्बर ४ को पटारमा निर्माण भएको खानेपानी आयोजनाबाट २९ घरधुरी, वडा नम्बर–३ को दाना बजारमा ५१, दुवाडीमा–२६ र काभ्रेमा ७५ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टले जनाएको छ । सम्पन्न भएका सबै योजनाबाट करिब एकहजार नौसय जनसंख्या लाभान्वित भएका छन् । आगमी आर्थिक वर्षमा वडा नम्बर ४ को बेसी र लेक गाउँमा गरी दुईवटा योजनाका लागि एक करोड १५ लाख रुपियाँ बराबरको बजेट व्यवस्थापन भएको गोर्खा वेल्फेयर ट्रष्टले जानकारी दिएको छ ।

गाउँपालिकाले सबै वस्तीहरुमा एक घर एक धारा निर्माण योजनालाई प्राथमिकतामा राखेर विभिन्न संघ सस्थाहरुको सहयोगमा योजनाहरु संचालन गरेको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । खानेपानीको चरम समस्या भएका वस्तीहरुमा खानेपानीका योजनाहरु निर्माण गरेर गोर्खा वेल्फेयरले पालिकालाई सहयोग गरेको उहाँले बताउनुभयो ।