अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ ः अध्यक्ष ढकाल

ठाकुरप्रसाद आचार्य
म्याग्दी,फागुन १९ गते ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र निराशाजनक स्थितिमा नभएको बताउनुभएको छ । अर्थतन्त्रले सुधारउन्मुख भएकाले व्यवसायीहरुले निराशा व्यक्त गर्ननहुने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘‘व्यवसायीहरुले निराशा मात्र व्यक्त गर्नुहुँदैन । खत्तम खत्तम भनिरहँदा तलका साना व्यवसायीहरुको हालत के होला ? सहज अवस्था त पक्कै छैन तर सुधार पनि हुँदै छन नी, अहिलेको परिस्थिति सिर्जना हुनुमा धेरै कारणहरु छन् । कुनै व्यक्ति विशेष र सरकारका कारणले मात्र होइन ।’’

उद्योगी व्यवसायीका लागि सहज अवस्था नभएपनि अर्थतन्त्र सुधार तर्फ अगाडी बढेको उहाँको भनाई थियो । निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि सरकारसँग गरेको निरन्तरको पहल र प्रयासबाट केही उपलब्धीहरु हासिल भएको उहाँको भनाई थियो ।

शनिबार बेनीमा म्याग्दी उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले कोभिड महामारीको विश्वव्यापी असर,श्रीलङ्काको समस्या, र रुस युक्रेन युद्ध जस्ता विषयहरु उठाएर नेपालको आर्थिक क्षेत्रमा कसिलो नीति लिएका कारण समस्या उत्पन्न भएको उहाँको भनाई थियो ।

अर्थतन्त्रलाई सहज बनाउन नीजि क्षेत्रले निरन्तर रुपमा प्रयास गरेको छ उहाँले भन्नुभयो, ‘‘ अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न सरकार र राष्ट्र बैंकलाई हामीले निरन्तर रुपमा सुझाव र दबाव दिएका छौं ।’’

निजी क्षेत्रकै प्रयास स्वरुप बैंकको ब्याजदर घट्न थालेको र कतिपय हाम्रा नीतिहरुलाई खुकुलो बनाउने प्रयास भइरहेको उहाँको भनाई थियो ।

‘‘कोभिड महामारीका कराण बन्द भएको पर्यटक आगमन अहिले बढेको,ब्याजदर घट्दो ट्रेनमा रहेको, बैंकहरुमा लगानी योग्य रकम बढ्न थालेको, रेमिट्यान्समा वृद्धि भएको जस्ता कुराहरु अर्थतन्त्र सुधारका संकेतहरु हुन,’’ उहाँले भन्नुभयो ।

अर्थतन्त्रलाई अझै सहज बनाउँदै थप व्यवसायिक वातावरण बनाउन सरकारलाई भनिरहेको अध्यक्ष ढकालको भनाई थियो ।

साथै उहाँले मुस्ताङ स्थित कोरला नाका व्यवसायिक रुपमा नियमित सञ्चालन गरेर धौलागिरि क्षेत्रलाई व्यवसायिक हब बनाउनुपर्ने धाराणा व्यक्त गर्नुभयो । कोरला नाकाको नेपाल तर्फको भूगोलमा सहज पहुुँचमार्ग, भन्सार, सुरक्षा निकायको उपस्थिति बढाएर नियमिति रुपमा व्यवसायिक हिसाबले सञ्चालन गर्न सरकारसँग पहल गरेको समेत उहाँको भनाई थियो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘‘बाग्लुुङको पञ्चकोटमा शनिबार आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग कोरला नाकाको नियमित सञ्चालन गर्नका लागि कालीगण्डकी कोरिडोर सडकको स्तरोन्नतिलाई जति सक्दो छिटो पूर्णता दिनका लागि प्रस्ताव गरेको छु । मेरो प्रस्तावमा प्रधानमन्त्री सकरात्मक हुनुहुन्छ ।’’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष आनन्दराम मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतले भारत र चीन जोड्ने छोटो दुरीको कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिका लागि सञ्चालित योजनालाई जति सक्दो छिटो पूर्णता दिन सकेमा यसबाट चीनका वौद्धधर्मावलम्बीलाई लुम्बीनी र भारतीय हिन्दुधर्मावलम्बीलाई कैलाश मानसरोबार जाने आउने मार्गका रुपमा प्रयोग गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो ।

संविधान सभा सदस्य नवराज शर्मा र गोविन्द पौडेलले म्याग्दीको जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी भित्र्याउन आग्रह गरे । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी र बिमला गौचनले म्याग्दीका विकास निर्माणका कामलाई तिब्रता दिनुका साथै निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण बनाउने प्रतिवद्धता जनाउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पुर्व नगर प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दीमा पर्यटक भित्र्याउने र भुलाउने योजना र कार्यक्रममा निजी क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।