अमरज्योती माविले मनायो ६१ औ वार्षिकोत्सव

विकल्प न्यूज/बेनी
माघ २२ गते ।


म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सहर र विदेशिने क्रम घटाउन नीतिगत सुधारको लागि आवाज उठाउने बताउनुभयो ।

“विद्यालयको पूर्वाधारसँगै दक्ष जनशक्तिको व्यवस्थापनका लागि नीति नियम बनाउन हाम्रो तहबाट पहल हुन्छ,” उहाँले भन्नुभयो “सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढाउन शिक्षक, अभिभावक, विद्यार्थी र समाजले पनि चासो दिनुपर्छ ।”

सांसद भण्डारीले गण्डकी प्रदेश सरकार मार्फत अदिभारामा मोटरेबल पुल निर्माण शुरु भएको र अदिभारा देखि डाडागाउँ हुदै सोलेडाडा जोड्ने सडक स्तरोन्नतिका लागि रु. दश करोडको बहुबर्षीय ठेक्का आव्हानको तयारी भएको बताउनुभयो ।

उहाँले पात्ले, लुप्सीपार लगायत बस्तीमा विद्युतीकरणको काम भइरहेको बताउनुभयो । विद्यालयको अधुरो भवन निर्माणलाई पूर्णता दिन पहल र समन्वय गर्ने सांसद भण्डारीले प्रतिवद्धता जनाउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले जोड दिएको बताउनुभयो । मालिका गाउँ कार्यपालिकाका सदस्य दलबहादुर खड्काथोकीले शिक्षाको पहुँच विस्तार मार्फतनै सामाजिक रुपान्तरण सम्भव भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर घर्तिले दरबन्दीको व्यवस्था मिलाउन माग गर्नुभयो ।

नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका सचिव लालबहादुर घतानले विद्यार्थीको सिकाई उपलब्धी बढाउन जोड दिनुभयो । प्रअ थमबहादुर पुनले २३० जना विद्यार्थीहरु रहेको विद्यालयको ६–१० तह निजी स्रोतबाट सञ्चालन भएको बताउदै विद्यालयको भौतिक र शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर पुनको अध्यक्षता र शिक्षक उमेश कडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । लठो तान्ने खेल खेलाइएको थियो ।