ताजा समाचार:
Search

हिमपातपछि खोप्रालेकको सुन्दर दृश्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ ११ गते ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा डाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धौलागिरी,निलगिरी,अन्नपूर्ण,गुर्जा लगायतका हिमालहरु सुन्दर देखिएका छन् ।

बुधबार यो वर्षको पहिलोपटक हिमपात भएको खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिमपातका कारण वरपरका हिमाल र डाँडाहरु हिउँले सेताम्मे भएका छन् । हिउँ परेपछि मौसम अत्याधिक चिसो भएको छ ।’’ खोप्रालेकबाट धौलागिरि, गुर्जा, चुरेन, नीलगिरि, अन्नपूर्ण लगायतका हिमालहरू आँखै अगाडि देख्न सकिन्छ ।

हिमपातका कारण हिमालहरू सुन्दर देखिन थालेको उहाँले बताउनुभयो । खोप्राका साथै म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल खयरलेक, घोडेपानी,पुनहिल,मोहरेडाँडा लगायतका उच्च भू–भागमा हिमपात भएको छ । लामो समयपछिको वर्षा सँगै परेको हिमपातले किसान खुशी भएका छन् । साथै गुर्जा, लुलाङ, मल्कबाङ, कुइनेमंगले, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिख लगायतका बस्तीहरुमा हिमपात भएको स्थानीयहरुले जानकारी दिएका छन् ।