बिममा दुई जनाको हत्या, हत्या गरेको आरोपमा एक जना पक्राउ

बेनी, २१ पुस ।

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

‘मनिषाको लुरवाङ स्थित घटनास्थलमै ज्यान गएको थियो,’ उहाँले भन्नुभयोे ‘हेलिकप्टरबाट पोखरा लगिएकी प्रियंकाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।’ चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया मालिका–७ बिम तल्लोगाउँकी अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त भएको बताएका प्रनाउ कुँवरले बताउनुभयो ।

जुग्जाली र गर्बुजालाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि हेलिकप्टरबाट पोखरा लगिएको थियो । बज्यैलाई सडकमा रगताम्मे देखेपछि बचाउन गएकी  नातिनी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको थियो ।

प्रियंकाका भाई प्रिन्स भने घरको खाटमुनी लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।जंगलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथी पनि चिर्पट प्रहार भएको थियो ।

प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन् । बिम तल्लो गाउँ नजिकै एक वटा ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।

हत्या र आक्रमणमा संलग्न भएको एक व्यक्तिलाई मालिका–७ बिमवाङबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

‘एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौ,’ प्रनाउ कुँवरले भन्नुभयो ‘विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । आइतबार तथ्य सहित सवै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्छौ ।’