मालिकामा थप तीन करोड ३० लाख बजेट विनियोजन

म्याग्दी (दरबाङ), पुस १९ गते ।
 म्याग्दीको मालिका गाउँपालिकाले थप तीन करोड ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिका केन्द्र दरबाङको छ्याछ्यारेस्थित सभाहलमा बुधबार सम्पन्न गाउँसभाको १४ औं अधिवेशनले गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपियाँ विभिन्न योजना तथा कार्यक्रमका शीर्षकमा विनियोजन गरेको हो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न अधिवेशनले गाउँपालिकाबाट सञ्चालित तीन वटा पूर्वाधार निर्माण योजनाको लागि १२ लाख ३३ हजार रुपियाँ, गत आर्थिक वर्षमा सञ्चालित क्रमागत ६ वटा ठेक्काका आयोजनालाई दुई करोड ९३ लाख ६९ हजार रुपियाँ विनियोजन गरेको छ । यसैगरी, शिक्षातर्फ विभिन्न कार्यक्रम सञ्चालनका लागि १५ लाख ८५ हजार रुपियाँ, नेपाल रेडक्रस सोसाइटी दरबाङ शाखालाई पाँच लाख रुपियाँ, सुरक्षित आप्रवासी स्रोत केन्द्रलाई दुई लाख पाँच हजार रुपियाँ, न्यायिक समिति सञ्चालन खर्चको लागि एक लाख आठ हजार रुपियाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

अधिवेशनले गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले सभामा प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ । अधिवेशनमा वार्षिक कार्यक्रमको समीक्षा, वडाध्यक्षहरुको सिफारिसमा यसअघि गाउँपालिकाको १३ औैं गाउँसभाबाट स्वीकृत वार्षिक योजना तथा कार्यक्रममा संशोधन गरिएको छ ।प्रमुख प्रशासकीय अधिकृत कार्कीका अनुसार,चालु आर्थिक वर्षको कुल स्वीकृत बजेट ४५ करोड ८१ लाख ४४ हजार रुपियाँमध्ये हालसम्म १६ करोड ३० लाख ९ हजार ६४१ रुपियाँ निकासा भएको छ ।

हालसम्म आठ करोड ११ लाख ५८ हजार ६८३ रुपियाँ खर्च भएको छ । यो कुल स्वीकृत बजेटको १७ दशमलव ७१ प्रतिशत छ । चालुतर्फ सात करोड २१ लाख ८ हजार ५८३ रुपियाँ र पुँजीगततर्फ ९० लाख ५० हजार रुपियाँ खर्च भएको छ ।

गाउँपालिका अध्यक्ष गर्बुजाले गाउँपालिकाभित्र सञ्चालित विभिन्न क्षेत्रका पूर्वाधार निर्माण, अधुरा रहेका योजनालाई पूर्णता दिन र विभिन्न कार्यक्रमलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको बताउनुभयो । असारे विकासको अन्त्य गर्ने उद्देश्यले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई अगाडि बढाइएको उहाँको भनाइ छ ।