म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रशिद्ध धाइरिङ भुमेथानको दर्शन र पूजाआजा गरे मनोकांक्षा पुरा हुने गहिरो जनविश्वास छ । भुमेथान यस क्षेत्रकै प्रशिद्ध धार्मिक स्थल हो । धाइरिङ गाउँको सिरानमा करिब नौं पुस्ता अघि भूमेथानको स्थापना गरिएको थियो ।
जुम्लामा पूजा गर्ने भुमेथानलाई आचार्य परिवारले बाईसे चौविसे राजाका पालामा धाइरिङ ल्याएर स्थापना गरेको भनाई छ । भुमेथानमा महिलाहरु पूजाआजा र दर्शन गर्न जाँदैनन् । यो नियम परापूर्वकाल देखि चलेको हो । यद्धपी अहिले कोही जान्छ भने रोकतोक छैन । भुमेथान सवैका लागि खुल्ला छ । अर्को पक्ष यहाँ दलित समुदायमा पनि जाँदैनन् । उनीहरुलाई पनि कसैले रोकतोक गरेका छैनन् ।
यहाँ भाकल गरेर बलि दिएको पाठा र प्रसाद घरमा लैजान पनि नपाइने अनौठो प्रचलन छ । वडा दशैंको सप्तमी,कोजाग्रत पूर्णिमा र चैते दशैंको अवसरमा गरी वर्षमा चारपटक गाउँलेहरुले भुमेथानको सामुहिक पूजाआजा गर्दछन् । गाउँलेहरुले धजापतका,अक्षता,धुपबत्ति,पैसा र घण्टी लगायतका पूजाका सामग्रीहरु जम्मा पारेर भुमेथानलाई पठाउँछन् । दर्शन गर्न महिला र दलित समुदाय नगएपनि उनीहरुले पूजाका सामग्री भुमेलाई पठाउँछन् ।
आचार्यका बाजे सर्बु भन्ने व्यक्ति घुम्दै फिर्दै यो भेगमा आउँदा भुमेथानलाई पनि जुम्लाबाट सँगै ल्याएर गाउँको सिरानमा स्थापना गरेको इतिहास फेला परेको भुमेथान व्यवस्थापन समितिका अध्यक्ष रुद्रलाल उपाध्यायले बताउनुभयो । आचार्य परिवारले स्थापना गरेपनि अहिले भुमेथान सवैको साझा तिर्थस्थल बनेको उहाँले बताउनुभयो ।
भुमेथानको दर्शन र पूजा गरे मनोकांक्षा पुरा हुने विश्वासले अहिले देशभरबाट भक्तजनहरु आउने क्रम बढेको उहाँले बताउनुभयो । भुमेथानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न समितिले योजना बनाएको उहाँको भनाई छ ।
भुमेथान धार्मिक आस्थाको केन्द्रका रुपमा विकास भएको जलजला गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भुमेथानको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पुरा हुने विश्वासले पछिल्लो समय यहाँ आउने भक्तजनको संख्यामा वृद्धि भएको छ । पूर्वाधार विकास र प्रचारप्रसार गरेर भुमेथानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य लिएका छौं ।’’
भुमेथानको स्थापना भएको करिब ९ पुस्ता भएको धाइरिङका अगुवा पुष्पराज पौडेलले बताउनुभयो । उहाँका अनुसार यहाँ महिला र दलित समुदाय दर्शन र पूजा गर्न जाँदैनन् । पौडेलले भन्नुभयो, ‘‘महिला र दलित समुदाय भुमेथानमा नजाने परम्परागत धार्मिक मान्यता हो । उक्त मान्यता अहिले सम्म पनि स्वतःस्फुर्त रुपमा कायमै छ ।’’
साउन,माघ महिना,कात्तिक पक्ष, एकादशी र औसीमा यहाँ बलि र पूजा हुँदैन । अन्य महिनाको शनिबार र मंगलबार बली दिने र पूजाआजा गरिने भुमेथानका पुजारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार पर्वतका साथै,बागलुङ,म्याग्दी,पोखरा,चितवन लगायतका जिल्लाहरुबाट यहाँ भक्तजनहरु आउने गरेका छन् । एकपटक आएका भक्तजनहरु मनोकांक्षा पुरा भएपछि पुनःदोहोरिएर दर्शन गर्न आउने गरेको उहाँले बताउनुभयो ।
भुमेथानको विकासका लागि डिपिआर बनाई पूर्वाधार निर्माण गर्ने योजना बनाएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
तस्विरहरु ठाकुरप्रसाद आचार्य