अन्नपूर्ण गाउँपालिकाको वडास्तरमा योजना सम्झौता शिविर सुरु

ठाकुरप्रसाद आचार्य
म्याग्दी,पुस २ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामा पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता गर्न सहज वातावरण मिलाउन वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो ।

उपभोक्ता समिति सँग योजना सम्झौता गर्न गाउँपालिकाका कर्मचारी,प्राविधिक र बैंकका कर्मचारीहरु वडामा खटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । वडामै पालिकाका कर्मचारी र प्राविधिकहरु योजना सम्झौता गर्न आएपछि उपभोक्ताहरु पनि खुसी भएका छन् ।

पालिकाबाट खटिएको टोलीले आठवटै वडामा पुगेर योजना सम्झौता र उपभोक्ताहरुलाई योजना कार्यान्वयन सम्बन्धि अभिमूखिकरण गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । उहाँका अनुसार आठ नम्बर वडादेखि योजना सम्झौता थालिएको छ ।
पालिकाका कर्मचारीहरु वडामै आएर योजना सम्झौता गर्न थालेपछि उपभोक्ताहरु खुसी भएको वडा नमबर ८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । उपभोक्ताको समय र रकम बचत भएको उहाँले बताउनुभयो ।

ADV

योजना सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयमा जान आउन गाडीभाडा, खाना, खाजाको खर्च व्यक्तिगत रुपमा व्यहोर्नु पर्ने थियो वडाध्यक्ष गर्बुजाले भन्नुभयो, ‘‘वडामै योजना सम्झौता भएपछि सबै खर्च बचत भएको छ । योजना कार्यान्वयन गर्न पनि चाँढो हुने भएको छ ।’’

#ADV

गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, वरिष्ठ लेखा सहायक प्रेम पराजुली र प्रभु बैंकको पोखरेबगर शाखाका प्रबन्धक सुमन घर्तीको टोली योजना सम्झौता शिविर लिएर आइतबार वडा नम्बर ८ राम्चे पुगेको छ । वडामा पुगेको पालिकाको टोलीले उपभोक्तलाई योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय र लेखा व्यवस्थापन सम्बन्धी तालिम पनि दिएको छ ।

आठ वटै वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधिकारीहरूलाई प्रशिक्षण दिइने गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब एकसय ५० वटा योजना कार्यान्वयन गर्दैछ । तीन लाख रुपैयाँ भन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।