यस्तो छ बिमको धार्मिक पर्यटकीय स्थल प्रभुचेला (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी
मंसिर ५ गते ।


म्याग्दीको मालिका गाउँपालिका–७ बिमको धुरीलाई ध्यानकेन्द्र बनाउन पूर्वाधार निर्माण थालिएको छ । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गरेकाले स्थानीयहरुले यस स्थानलाई प्रभुचेला धुरी नामाकरण गरेका छन् । मालिका गाउँपालिकाले पूर्वाधार निर्माण गरी यस स्थानलाई ध्यानकेन्द्रका रुपमा विकास गर्न योजना अघि सारेको छ ।

ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरिएको बताए । परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको दुई वर्षअघिको अध्ययनबाट तथ्य पहिचान भएपछि संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणमा जुटेको उहाँले बताउनुभयो ।

समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । ऋषिमुनि तपस्या गर्न आउने प्रभुचेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ । यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताउनुभयो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ ।
प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनि आउने गर्दथे । कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धौलागिरि र गुर्जा हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

मालिका गाउँपालिकाको पाँच लाख बजेटबाट सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाएका छन् । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुनःनिर्माण गरेका छन् । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । प्रभुचेलालाई ध्यान केन्द्रका रुपमा विकास गर्न चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ५० लाख विनियोजन गरेको छ । स्थानीयहरुले पनि करिब २५ लाख रुपियाँ जुटाएका छन् ।