बेनीको शिरैमा एतिहासिक जगन्नाथ मन्दिर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी
भदौ ९ गते ।

म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा एउटा एतिहासिक शिखर शैलीमा निर्माण गरिएको जगन्नाथ मन्दिर छ । बेनी नगरपालिका ५ गाजने गाउँमा पर्ने जगन्नाथ मन्दिर राजा दिलिपबम मल्ले (डिम्ब) पन्ध्रौ शताब्दीको मध्यतिर भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किंवदन्ती छ । मन्दिरभित्र राजाको समाधिस्थल समेत रहेको भनाई छ ।

#ADV

यहाँ भगवान् जगन्नाथसहित राम, लक्ष्मण, कृष्ण, बलराम, चतुर्बाहु, नृसिंह, गणेश र विष्णुका अवतार मूर्तिहरू रहेका छन् । मन्दिरभित्र रहेका अधिकांश मूर्ति धातुको सहायताबाट बनाइएको छ । जगन्नाथ मन्दिर भएकाले यो गाउँमा परापूर्वकालदेखि नै कुखुरापालन र बंगुरपालन हुँदैन भने अवैधरूपमा घरेलु मदिरासमेत उत्पादन गरिँदैन । तत्कालिन राजाले बनाएको नियम अझै पनि जिवित छ ।

बाइसे–चौबीसे राज्यका पालामा राजा दिलिपबम मल्लले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै तत्कालिन समयमा गाउँमा कुखुरा, सुंगुरपालन, बंगुरपालन र मदिरा उत्पादनलाई निषेध गरिएको र उक्त नियम अझै पनि जिवित रहेको जगन्नाथ मन्दिर धाम गुठी संचालन तथा व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले बताउनुभयो । उहाँका अनुसार गाजने गाउँका पसलहरुमा बजारको मदिरा समेत बिक्री–वितरण गरिदैन ।

यहाँ बाहिरबाट लगेर कुखुरा तथा बंगुर बिक्री र काटमार पनि गर्न पाइँदैन । यदि कसैले यस्ता गलत कार्यहरू गरेको पाइएमा जगन्नाथ मन्दिर परिसरमा सर्प निस्किएर दृश्य देखाउने गरेको शर्माको भनाई छ ।

जगन्नाथ मन्दिरमा पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि चल्दैन । अबिरको सट्टा केसरी र रातो धजा पताकाको सट्टामा पहेंलो र सेतो कपडाको फेटा लगाइन्छ । यहाँ पहेंलो र सेतो धजा चढाउने गरिन्छ ।

राजाको समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध गरिएको स्थानीय अगुवाहरु बताउँछन् । जगन्नाथ मन्दिरको अहिले पुनर्निर्माण भएको छ । २०६९ सालमा सप्ताहव्यापी महायज्ञको आयोजना गरी सोबाट संकलित रकमले मन्दिरलाई भारतको उडिसाको जगन्नाथपुरीको मन्दिरको ढाँचामा निर्माण गरिएको छ ।

यहाँ वर्षको एकपटक रथयात्रा गर्ने प्रचलन छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिँदै आएको छ । यसवर्षको रथयात्रा भदौ ११ गते आयोजना गरिएको छ ।

मदिरा र मासु नचल्ने जगन्नाथ मन्दिर रहेको गाजने गाउँलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीयहरु जुटेका छन् । जगन्नाथ मन्दिरको आवश्यक प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढाउनका लागि सडक विस्तार, भ्युटावर निर्माण जस्ता कार्यलाई जोड दिइएको जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

समुन्द्री सतहदेखि २ हजार मिटरको उचाइमा अवस्थित जगन्नाथ मन्दिर जानका लागि म्याग्दी सदरमुकाम बेनीबाट पैदलयात्रा गरेर करिब ३ घन्टा र सवारीसाधनबाट १ घन्टामा सजिलै पुग्न सकिन्छ । बेनीको हुलाकचोकबाट पदमार्ग हुँदै अर्थुङ्गे गुफा–पौलस्त्य–पुलहाश्रम–ढोलठान राजदरबार भएर पनि जगन्नाथ मन्दिरसम्म पदयात्रा गर्न सकिन्छ । पछिल्लो समय भारतबाट समेत भक्तजन र पर्यटक दर्शन गर्न आउने गरेका छन ्। मन्दिरमा दैनिकरूपमा पूजाआजा हुँदै आइरहेको छ ।