सरसफाई गरेर चिटिक्क पारिएको कालिपुल बसपार्क (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन ३ गते ।

डेढ दशकपछि म्याग्दीको सदरमुकाम स्थित कालिपुल बसपार्क व्यवस्थित रुपमा संचालनमा ल्याइएको छ । संघीय,प्रदेश र बेनी नगरपालिकाको संयुक्त लगानीमा बसपार्कमा भौतिक पूर्वाधार निर्माण भएसँगै मुस्ताङको प्रवेशद्धारका रुपमा रहेको बसपार्क व्यवस्थित रुपमा संचालनमा ल्याइएको हो ।
बसपार्कमा निर्माण भएको सुविधा सम्पन्न टर्मिल भवन बुधबार औपचारिक रुपमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । बसपार्कलाई सरसफाई गरेर चिटिक्क पारिएको छ । सवारीसाधन व्यवस्थित रुपमा पार्किङ गरेर राखिएका छन् । कालिपुल बसपार्क भनेपछि पहिला फोहोर थुप्रिएको हुन्थो । अहिले सरसफाईयुक्त पारिएको छ ।

बसपार्कमा टर्मिनल भवन ,पार्किङ स्थल,शौचालय,खाजाघर र प्रतिक्षालय लगायतका पूर्वाधार निर्माण भएपछि हिउदमा धुलो,बर्खामा हिलो र अव्यवस्थित पार्किङको समस्या हटेको बेनी नगरपालिकाका प्रमुख केसीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘‘बसपाकलाई थप व्यवस्थित र पूर्वाधारयुक्त बनाउन नगरपालिकाले आवश्यक योजना बनाउँछ । मुस्ताङ प्रवेशद्धारका रुपमा रहेको कालिपुल बसपार्कलाई आगामी दिनमा नमुनाका रुपमा संचालन गर्ने योजना छ ।’’

विगत तिनवर्ष यता बसपार्कलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको थियो । कालिगण्डकी नदी कटानको जोखिममा परेको बसपार्कको संरक्षणका लागि तटबन्धन निर्माण,बसपार्क कालोपत्रे,ट्याक्सी र बस पार्किङस्थल ढलान गरेपछि धुलो र हिलोको समस्या हटेको कालिपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

बस पार्कलाई व्यवस्थित र आधुनिक बनाउन गुरुयोजना अनुसार बसपार्कमा करिब साढे दुईकरोड रुपियाँ लागतमा टर्मिनल भवन निर्माण गरिएको थियो । अपाङ्गमैत्री रहेको टर्मिनल भवनमा सार्वजनिक शौचालय,बाथरुम,टिकट काउन्टर र यात्रु प्रतिक्षालय लगायतका पूर्वाधारहरु निर्माण गरिएका छन् ।

बसपार्क निर्माण गर्न २०७४ मा सहरी विकास मन्त्रालयले कालिपुल बसपार्क गुरुयोजना बनाउन २१ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । डिपिआर अनुसारको निर्माण कार्य अझै बाँकी रहेको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो ।

पार्किङमा राखिने सवारी सधानलाई समयको आधारमा २५ देखि दुईसय रुपियाँ प्रतिगोटाका दरले शुल्क निर्धारण गरिएको छ । भवन परिसरमा सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । व्यवस्थित बसपार्क निर्माण भएपछि यातायात व्यवसायीलाई सहज भएको यातायात व्यवसायी लालबहादुर थापाले बताउनुभयो ।

२०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि कालीपुल बसपार्क सञ्चालनमा आएको थियो । बेनीदेखि काठमाडौं, पोखरालगायत देशका विभिन्न ठाउँ, मुस्ताङ, म्याग्दीको उत्तरी क्षेत्रमा छुट्ने गाडी र ट्याक्सी यहाँ पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।