विकल्प न्युज/ बेनी
माघ २ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ म्याग्दी महोत्सवमा पाचौँ दिन भएको छेलो फाल्ने प्रतियोगितामा पहलमान मल्लाजका इन्द्र बरुवाल बनेका छन् । १८ जना सहभागि भएको छेलोमा पहलमान पर्वत जलजला गाउँपालिका– ३ मल्लाजका ५३ बर्षिय रिटायर भारतीय आर्मी बरुवाल बनेका हुन् ।
छेलो प्रतिस्पर्धामा बरुवाले १३ मिटर २० सेन्टिमिटर फाल्दै जितेका थिए । विजयी बरुवाललाई रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले नगद तीन हजार रुपैया सहित फेता लगाएर प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । विजयी बरुवालले २७ बर्ष अघि २०५२ सालमा पनि छेलो जितेका थिए ।
सदरमुकाम बेनीबजारमा जारी महोत्सवमा स्थानीय उत्पादन एवं औद्योगिक प्रर्दशनी, लोकदोहोरी, एकल लोक गीत प्रतियोगिता, पालिकास्तरको भलिबल तथा बास्केटबल प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारबाट गीत तथा नृत्य प्रस्तुती, पालिकास्तरीय पुख्यौली नाच प्रतियोगिता, रत्यौली, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम भईरहेका छन् ।