जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी
मंसिर १८ गते ।


मंसिरको तेस्रो साता देखि बेनीमा सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जनाएको हो ।

‘जेसिज कप फुटवल म्याग्दीको सान–नव प्रतिभा पहिचान र क्षमता प्रष्फुटन’ भन्ने नारा सहित मंसिर २१ देखि २४ गते सम्म संचालन हुने प्रतियोगिताका लागि मैदान व्यवस्थापन, आर्थिक संकलन, छपाई, पत्राचार, अफिसियल चयन, लगायत प्रतियोगिता संचालनका लागि आवश्यक पर्ने सवै व्यवस्थापकीय कार्यहरुको तयारी पुरा भएको प्रतियोगिताका मूल संयोजक दिनेश बानियाँले जानकारी दिनुभयो ।

२० औँ संस्करणको जेसज कप फुटबल प्रतियोगिताका विजेता विद्यालयलाई जेसिजकप रनिङ, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २५२ र उपविजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३२ हजार २३२ पुरस्कारको व्यवस्था गरिएको शाखा अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । त्यस्तै सेमि फाइनलमा पुग्ने दुई टीमलाई नगद रु पाँच/पाँच हजार पुरस्कार दिने निर्णय गरिएको छ । यो व्यवस्था भने पहिलो पटक गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा २००९ का उत्कृष्ट खेलाडी प्रकाश माविका सन्तोष छन्त्याल, सर्वाधिक गोलकर्ता माउन्ट एभरेष्टका विकास थापा र उत्कृष्ट गोलरक्षक न्यु वेष्ट पोइन्ट माविका लोकेन्द्र पुन लाई सम्मान गरिने भएको छ । यसैबर्ष देखि प्रत्येक बर्ष पुराना खेलाडीलाई सम्मान गर्ने योजना बनाएको र अर्को बर्ष २०१० का उत्कृष्ट खेलाडीलाई सम्मान गरिने शाखा अध्यक्ष खत्रीले बताउनुभयो ।

यसैगरि खेलाडीहरुलाई रु १ लाख सम्मको दुघर्टना विमाको पनि व्यवस्था गरिएको छ । यसबर्षको प्रतियोगितामा जिल्लाका २० देखि २२ वटा माविका २४० देखि २८० सम्म खेलाडीहरुको सहभागिता रहने खत्रीले बताउनुभयो । म्यान अफ द म्याचका खेलाडीलाई १ सेट जर्सी दिने व्यवस्था गरिएको । २० गते बेलुका ४ बजे जेसिज सचिवालयमा प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम तय भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी धमानसिंह अवार्ड, सर्वाधिक गोलकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक इन्द्र अर्वाड, उत्कृष्ट डिफेन्डर सरस्वति अवार्ड, उत्कृष्ट स्ट्राइकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर माया अवार्ड, राईजिङ प्लेयर धन अर्वाड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, र अनुशासित टीम झलक खगेश्वरी अवार्ड नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको प्रतियोगिताका मुल संयोजक बानियाँले बताउनुभयो ।

प्रतियोगिताको टाईटल स्पोन्सर गौमती विकास कोष र प्रायोजकमा लालीगुराँस अफसेट प्रेस रहेको छ । इन्सोरेन्स पार्टनर रिलायवल नेपाल लाईफ र हेल्थ पार्टनरमा बेनी सञ्जिवनी हेल्थ क्लिनिक रहेको छ ।

सन २००१ बाट सुरु गरिएको अन्तर मावि जेसिजकप फुटवल प्रतियोगितामा हाल सम्म प्रकाश माविले ५ पटक, बेनी बोर्डिङले ५ पटक, माउण्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यू वेष्ट प्वाईन्ट आवासीय माविले ५ पटक जित हासिल गरेका छन । जेसिजकप फुटबलले जिल्लामा फुटबल खेलाडी तथा रेफ्रि उत्पादनमा महत्वपूर्ण टेवा पु¥याउदै आएको म्याग्दी जेसिजले जनाएको छ ।