ज्यामरुककोटबाट धौलागिरि नियाल्दा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी
कात्तिक १३ गते ।

बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काँखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य । बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय भूभाग । बेनी देखि करिब ४ किलोमिटरको उकालो यात्रा पछि पुग्न सकिने ज्यामरुककोटबाट १५ वटा हिमश्रृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीको नागबेली दृश्यले पर्यटकलाई आनन्दको महशुस गराउँछ ।

पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनालेयुक्त ऐतिहासिक र पुरातात्विक स्थल ज्यामरुककोट प्रशस्तै प्राकृतिक सौन्र्दयले युक्त भएर पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

यहाँबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १५ वटाभन्दा बढी हिमालको दृश्यावलोकन, म्याग्दी,पर्वत र बागलुङका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजार,प्रशिद्ध गलेश्वरधामका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

बेनी देखि नजिकै यस्तो रमणीय स्थान रहेछ शनिबार ज्यामरुककोट घुम्न पुग्नुभएका मोना हङकङका अध्यक्ष कर्ण पुनले भन्नुभयो ‘यहाँ भौतिक पूर्वाधारको निर्माण र प्रचारप्रसार गर्नसके स्वदेशी तथा विदेशी पर्यटक ल्याउन सकिने राम्रो संभावनायुक्त क्षेत्र रहेछ ।’ शनिबार मोना हङकङका अन्य सदस्यहरुले पनि ज्यामरुककोटको भ्रमण गरेका थिए ।

यहाँ १७ औँ शताब्दीको धार्मिक र ऐतिहासिक स्थल खड्ग भवानी कोत, ऐतिहासिक राजकुवा, मल्लकालीन हातहतियारलगायत प्रशस्तै प्राकृतिक र ऐतिहासिक सम्पदाहरू रहेको ज्यामरुककोट क्षेत्र विकास व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो । नेपालकै एक ऐतिहासिक र पर्यटकीय सम्भावना भएको महत्वपूर्ण स्थल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यहाँ ५७४ वर्ष पहिलेका मल्ल र थापा राजाहरुका अभिलेख रहेका छन् ।

ज्यामरुककोटमा विसं १२४६ देखि १५४५ सम्म थापाहरुले राज्य गरेका थिए । विसं १५४५ को भदौ महिनामा थापाहरुको पुख्र्याैली थलो मानिएको ताकम डिम्बबमले कब्जा गरेपछि ज्यामरुककोट, पुलाचौर, कुहूँ र राखुका थापा राजाहरुले आफ्नो खाइपाई आएको राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेनापति बनेसँगै थापा राज्यको अन्त्य भएको इतिहास रहेको बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर क्षेत्रीले बताउनुभयो । ज्यामरुककोटको भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने लक्ष्य वडाको भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय बेनी नगरपालिकाले यहाँको भौतिक पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिन थालेको छ । कोतमा पुग्ने पदमार्ग,घेराबार,मन्दिर निर्माण र खानेपानीको व्यवस्था गरिएको पूर्व वडाअध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

बेनी देखि लभ्लीहिल सम्म निर्माण गरिएको पदमार्गलाई विस्तार गर्ने र पूर्वाधारको विकास गरी पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । पर्यटकीय संभावना भएको यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्ने र प्रचारप्रसार गर्न सकेमा पर्यटक आगमनमा वृद्धि गर्न सकिने म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

बेनी देखि व्यवस्थित पदमार्ग,यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यका बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने धौलागिरि,अन्नपूर्ण र मुस्ताङको भ्रमणमा आएका पर्यटकहरुलाई ज्यामरुककोट सम्म पु¥याउन सकिने उहाँले बताउनुभयो ।