एपीएफ बन्यो महिला भलिबलको च्याम्पियन

ठाकुरप्रसाद आचार्य /म्याग्दी
कार्तिक २ गते ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लब बनेको छ । महिला भलिबल जितेसँगै एपीएफले स्वर्ण पदक हात पारेको हो ।

बुधवार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको च्याम्पियन बन्न सफल भएको हो ।

एपीएफले पहिलो र दोस्रो सेटमा २५–२१,३०–२८ मा खेल खेलेको थियो । त्यसपछि तेस्र सेटमा पुलिस क्लबले २६–२४ ले जित्यो । अन्तिम निर्णयक सेट २५–१९ ले जितेर एपीएफ च्याम्पियन बन्न सफल भयो । दुई टिमका बीच निकै प्रतिस्पर्धात्मक र रोचक खेल भएको थियो ।

विजेता टिमका खेलाडीहरुलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कार, मेडल र ट्रर्फी वितरण गरिएको छ । यसैगरी बागमती प्रदेशले तेस्रो स्थान जितेर कास्य पदक हात पारेको छ । गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरि बागमतीले कास्य जितेको हो ।