महिला भलिबल ः एपीएफ र बागमती प्रदेश सेमिफाईनलमा प्रवेश

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असोज ३१ गते ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा भएको महिला भलिवल प्रतियोागिताको क्वाटर फाइनलको प्रतिस्पर्धाबाट एपीएफ क्बल र बागमती प्रदेशले सेमिफाइनलको यात्रा तय गरेका छन् ।

सोमबार भएको क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेश माथि जित निकालेको थियो ।

यसैगरी सुदुरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगिताको दोस्रो खेलमा सोझो तीन सेटमा जित निकाल्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको छ । सुदुरपश्चिमसंग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा आफ्नो पक्षमा निकालेको हो ।

दिउँस १ बजे आर्मी र नेपाल पुलिस क्लब र ३ बजे गण्डकी प्रदेश र प्रदेश एकका बीच सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । कात्तिक २ गतेसम्म संचालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहभागिता रहेको छ ।