ताजा समाचार:
Search

सुन्तला खेतीबाट समृद्ध बासखर्क

ठाकुरप्रसाद आचार्य/जलजला
माघ २९ गते ।

पर्वतको जलजला गाउँपालिका १ बासखर्कका भुवन पाइजाले वार्षिक १५ लाख रुपियाँ बराबरका सुन्तला विक्री गर्नुहुन्छ । विगत १५ वर्ष देखि उहाँले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । ३० रोपनी जमिनमा एकहजार बोट सुन्तलाका विरुवा उहाँको फर्ममा छन् ।

पाइजाले मात्र होइन बासखर्कका दुईसय १० घरपरिवारले वर्षौ देखि व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । २० घरपरिवारले वार्षिक १० देखि १५ लाख रुपियाँ बराबरका सुन्तला विक्री गरेर आम्दानी गर्ने गरेका छन् । यस्तै अन्य घरपरिवारले पनि न्युनतम ५ लाख देखि ७ लाख रुपिपयाँ सम्म सुन्तला खेतीबाट आम्दानी लिने गरेका छन् । यहाँका किसानहरु यतिखेर सुन्तला टिप्न,ग्रेडङ गर्न र बजार पठाउन व्यस्त देखिन्छन् । दिनदिनै व्यवपारीहरु सुन्तला खरिद गर्न गाडी लिएर बासखर्क पुग्ने गरेका छन् ।

प्रत्येक वर्ष सुन्तला विक्रीबाट गाउँमा पाँच करोड रुपियाँ भन्दा बढी भित्रीने गरेको वडा अध्यक्ष तुलसी रेग्मीले बताउनुभयो । यहाँका सवैजसोले सुन्तला लगाएका छन् वडा अध्यक्ष रेग्मीले भन्नुभयो ‘सुन्तला खेतीबाट गाउँ समृद्ध बनेको छ । सुन्तलाको आम्दानीले सहरबजारमा घरघडेरी जोडेका छन् ।’

‘राजनीति र समाजसेवाका साथै मैले पनि सुन्ताला खेती गरेको छु वडा अध्यक्ष रेग्मीले भन्नुभयो ‘सुन्ताल विक्रीबाट वार्षिक ५ लाख रुपियाँ आम्दानी गर्दछु ।’ सुन्तला विक्री गरेर आर्जन गरेको पैसाले यहाँका स्थानीयवासीहरुको जिवनस्तरमा निकै सुधार आएको उहाँले बताउनुभयो । १५ वर्ष पहिला घरखर्ची चलाउन यहाँका स्थानीयहरुलाई धौधौ थियो सहरबजारका साहुँ महाजन,सहकारी र छिमेकी गाउँमा ऋण लिन जानुपर्ने बाध्यता थियो वडा अध्यक्ष रेग्मीले भन्नुभयो ‘अहिले सहरबजारमा घरघडेरी जोडेका छन् । बैंक तथा वित्तिय संस्थाहरुमा पैसा जम्मा गर्ने भएका छन् ।’

बासखर्कबासीहरुले पचास वर्ष देखि सुन्तला खेती गर्दै आएपनि पछिल्ला १५ वर्ष देखि यता व्यवसायिक रुपमा सुन्तला खेती फस्टाएको बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो । सुन्तला खेतीका लागि तालिम,मल,विरुवा र औजारमा सरकारी स्तरबाट सहयोग पाउन थालेपछि सुन्तला खेती तर्फ कृषकहरु आकर्षीत हुनथालेको उहाँले बताउनुभयो । सुन्तला उत्पादक कृषकलाई सहयोग गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको उहाँले बताउनुभयो । सहकारीमा ४४ जना कृषक आवद्ध भएका छन् ।

सुन्तला खरिद गर्न पोखरा र मुग्लीङबाट व्यवपारीहरु आउने गरेको सहकारीका अध्यक्ष खत्रीले बताउनुभयो । गाउँमै आएर व्यापारीले प्रतिकेजी एकसय ५० देखि एकसय ९० रुपियाँ सम्म खरिद गर्ने गरेको उहाँको भनाई छ । गत वर्ष भन्दा यसवर्ष सुन्तलाले राम्रो मुल्य पाएपछि कृषकहरु उत्साहित भएका छन् ।

सुन्तला लिन व्यवपारीहरु पोखरा, मुग्लिन र नारायणगढ लगायतका बजारबाट गाउँ आएका छन् । किसानले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रूपमा लिँदै आएका छन् ।

यस वर्ष सुन्तला विक्रीबाट १३ लाख रुपियाँ आम्दानी गरेको सहकारीका अध्यक्ष खत्रीले सुनाउनुभयो । ‘गाउँमा खाली जमिन छैन सवैतिर सुन्तलाका विरुवा छन । सुन्तला खेती तर्फ गाउँलेहरु आकर्षीत छन् । वर्षेनी सुन्तला खेती गर्नेहरुको संख्या थपिदै आएको छ ।’ सहकारीका अध्यक्ष खत्रीले भन्नुभयो । माघ पहिलो हप्तादेखि यहाँका सुन्तला बजार जान थालेका छन् ।