काठमाडौं, ३१ असार – नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)का अधिकांश सेवाको वितरण, बिल भुक्तानी तथा ग्राहक जानकारी एकद्वार प्रणालीबाट सुरु भएको छ । टेलिफोन, मोबाइल, इन्टरनेटलगायत सबै सेवा लिन र बिल भुक्तानी गर्न, प्याकेज थप्न वा हटाउन मिल्ने एकीकृत बिल पद्धति (कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टम) सञ्चालनमा आएको हो ।
आर्थिक वर्ष ०७१÷०७२ को अन्त्यम्म पूरा गर्ने लक्ष्य राखिएकोमा साधारण टेलिफोन (पीएसटीन)तर्फका साढे ६ लाख र जीएसएम पोस्टपेटका ३ लाख ग्राहकबाहेक सबै सीआरटीबी सिस्टममा गइसकेका छन् । आव ०७२÷७३ को पहिलो चौमासिकसम्ममा सिस्टममा लैजान बाँकी सबै ग्राहकलाई अपग्रेड गरिने कम्पनीले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार गत फागुनसम्ममा टेलिकमका सवा करोड ग्राहक छन् । कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले करिब ९ लाख ग्राहक एकीकृत बिलिङभन्दा बाहिर भए पनि छिटै उनीहरू पनि सिस्टममा आउने बताए । “ग्राहकले सेवाअनुसारका काउन्टर धाउनुपर्ने, एउटै परिवारका सदस्यको बिल छुट्टाछुट्टै तिर्नुपर्नेजस्ता समस्याको अब अन्त्य भएको छ,” उनले भने, “देशभर यो सुविधा उपलब्ध हुन्छ । ग्राहकले इच्छाअनुसार आफ्नो सेवा लिन वा हटाउन सक्छन् ।”
सीडीएमए प्रविधिमा यो सिस्टम लागू भइसकेको छ भने जीएसएमको पोस्टपेडमा आंशिक काम भएको छ । ल्यान्डलाइन, इन्टरनेट तथा अन्य सेवा पनि यो सिस्टममा आबद्ध गर्दै जाने र देशभरका जुनसुकै काउन्टरबाट सबैखालका सेवा एउटै द्धारबाट छोटो समयमा उपलब्ध गराइनेछ । कात्तिकसम्ममा यो सिस्टम पूर्ण कार्यान्वयमा जाने र कम्पनीका सबै सेवा एकद्धार प्रणालीमा आधारित हुने कम्पनीले जनाएको छ ।
कम्पनीले यसका लागि अनलाइन, डेटा सेन्टर, पावर ब्याकअप तथा दक्ष जनशक्ति निर्माण गरेको छ । टेलिकम र एसियाइन्फो इन्टरनेसनलबीच यो परियोजनाका लागि सम्झौता भएको छ । सीडीएमए, जीएसएम तथा इन्टरनेटमा आधारित सबै सेवा ३ चरणमा सम्पन्न गर्ने सम्झौता छ । “विश्वव्यापी रूपमा सूचना–प्रविधिको पहुँच बढेको अवस्थामा टेलिकमले एकद्धार नीति अवलम्वन गर्नुको विकल्प छैन,” प्रबन्ध निर्देशक आचार्यले भने ।
टेलिकमले ‘ड्रिम प्राजेक्ट’को रूपमा लिएको एकीकृत बिलिङ सिस्टम लागू हुँदा उपभोक्ताले टेलिकमका सबै सेवाको बिल एउटै काउन्टरबाट तिर्न सक्छन् । एउटै घर वा परिवारले लिएका सेवालाई एउटै एकाउन्टमा राख्न सकिनेछ भने एउटै व्यक्तिले बिल भुक्तानी गर्न सक्नेछन् । कुनै सेवामा ब्यालेन्स भएको र कुनैमा ब्यालेन्स सकिएको अवस्थामा रकमान्तर गर्न सक्ने व्यवस्थासमेत हुनेछ ।
अहिलेसम्म नेपाल टेलिकमले आधारभूत टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए तथा इन्टरनेटका लागि फरकफरक बिलिङ अपनाएको छ । टेलिकमले यो सेवा लागू हुँदा प्रतिस्पर्धामा जान र ग्राहकलाई थप सन्तुष्ट पार्न सक्ने अपेक्षा लिएको छ । नयाँ ग्राहकले एउटा एकाउन्टमा सबैखालका सेवा रजिस्टर गर्न सक्नेछन् भने पुराना ग्राहकले आफ्ना सेवाहरू पुनः यो एकाउन्टमा रजिस्टर गर्नुपर्ने हुन्छ ।