यसरी हुँदैछ रत्नेचौरमा सडक कालोपत्रे (फोटोफिचर/भिडियो सहित)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
मंसिर १७ गते । 
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौ देखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् । सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन ।
सडकको ट्रयाक खुलेको दुईदशक पछि रेत्नेचौर–अर्जम –भकुण्डे हुँदै भकिम्ली जोड्ने सडक स्तरउन्नती सहित कालोपत्रे गर्न थालिएको हो । सडक स्तरउन्नती सहित कालोपत्रे गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा दुई करोड ४९ लाख ७६ हजार चार सय २३ रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटलाई दुई प्याकेजमा विभाजन गरी योजना कार्यान्वयन थालिएको छ । 
सडक डिभिजन कार्यालय बागलुङले सर्वसिद्ध कन्ट्रक्सन सँग दुई प्याकेजमा ठेक्का सम्झौता गरी योजना कार्यान्वयन अगाडि बढाएको छ ।
योजनाको पहिलो प्याकेजमा रत्नेचौर देखि एकहजार तिनसय किलोमिटर सडक कालोपत्रे सुरु गरिएको छ । दोस्रो प्याकेजमा अर्जम सम्म सडक फरकिलो,ग्यावियन झाली,नाली र मेशनरीवाल लगायतका निर्माणका कामहरु हुने निर्माण कम्पनीका साईड इन्चार्ज बलराम केसीले जानकारी दिनुभयो ।
उहाँका यहि मंसिर ३० गते भित्र निर्माण सम्पन्न गर्ने गरी गत जेठ २८ गते ठेक्का सम्झौता भएको थियो । कोरोना महामारीले निम्ताएको संकटले केही ढिला भएपनि तोकिएको समयसीमा भित्र कालोपत्रे गर्ने काम सम्पन्न गर्न मजदुर र उपकरणहरु परिचालन गरिएको उहाँले बताउनुभयो । दोस्रो प्याकेजको योजनामा पनि ७० प्रतिशत निर्माणको काम पुरा भएको उहाँले बताउनुभयो । 
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण सास्ती भोगेका रत्नेचौरवासीहरु सडक कालोपत्रे हुनथालेपछि उत्साहित भएका छन् । घरकै अगाडी सडक कालोपत्रे हुनलाग्दा खुसी लागेको स्थानीयवासी अम्मर बहादुर बोगटीले बताउनुभयो ।
घरै अगाडी विकास हेर्न पाउँदा खुसीको सीमा छैन बोगटीले भन्नुभयो ‘यती चाँढै सडक कालोपत्रे हुन्छ भन्ने सोचेका पनि थिएनौं ।’ रत्नेचौर संघीय सांसद भुपेन्द्र बहादुर थापाको आफ्नै गाउँ हो ।
सांसद थापाको पहलमा सडक कालोपत्रे गर्ने योजना परेको बोगटीले सुनाउनुभयो । साघुरो सडकलाई नाली सहित ८ मिटर २० सेन्टिमिटर फराकिलो बनाइएको छ । गाउँको विच भागबाट निर्माण गरिएको फराकिलो सडकले गाउँको सुन्दरता समेत थपेको छ । 
सडक फराकिलो सहित कालोपत्रे भएपछि कृषि उपजलाई बजार सम्म पु¥याउन र आवतजावतमा सहज हुने वडा सदस्य टेकबहादुर थापाले बताउनुभयो ।
दुईदशक अघि तत्कालिन जिल्ला विकास समितिले रिङरोडको अवधारणा अनुसार ग्रामिण कृषि सडक निर्माण सुरु गरेको थियो । रत्नेचौर देखि बेनी नगरपालिकाको वडा नम्बर ३ भकिम्ली,मंगला गाउँपालिका ४ बरंजा र मालिकाको रुम हुँदै गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने गरी सडक निर्माण थालिएको थियो ।
रिङरोडको अवधारणा अनुसार तत्कालिन जिल्ला विकास समितिले २०५७ सालमा ग्रामिण कृषि सडक निर्माणको योजना अघि सारे पनि बजेट अभावका कारण सडक निर्माणले गति लिन सकेको थिएन ।
लोकतन्त्रको स्थापना पछि निर्वाचित जनप्रतिनिधिहरुको पहलमा बजेट विनियोजन हुनथालेपछि योजनाले गति लिन थालेको बेनी नगरपालिका १ का वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।
सडक निर्माणले पुर्णता पाएपछि ग्रामिण क्षेत्रमा उत्पादीत कृषि उपजको बजारीकरणमा सहयोग पुग्न्े अपेक्षा गरिएको वडा अध्यक्ष रावलले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्