ठाकुरप्रसाद आचार्य/बेनी
कात्तिक २२ गते । ७ महिना देखि बन्द रहेको श्री जनजागृति मावि । तस्विर ठाकुरप्रसाद आचार्य
म्याग्दीको धौलागिरि गाउँपालिका ५ दुर्गम मल्कबाङको एक विद्यालयमा ७ महिना अघि लगाइएको ताला अझै खुलेको छैन । बालबालिकाहरु कहिले स्कुल खुल्ला र पढ्न पाइएला भनेर पर्खी बसेको ७ महिना वितिसक्यो ।
कोरोना भाइरसको कारण देखाउँदै गाउँको श्री जनजागृति माध्यमिक विद्यालयमा लामोसमय देखि पठनपाठन पूर्णरुपमा बन्द गरिएको छ । विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम तथा नियन्त्रण गर्ने भन्दै गरिएको बन्दाबन्दीका कारण विद्यालय पूर्ण रुपमा बन्द गरिएको थियो ।
दैनिकजसो बालबालिकाहरु अभिभावकलाई विद्यालय कहिले खुल्छ भनेर सोधिरहन्छन् । शिक्षक आउने बाटो हेर्दा हेर्दै बालबालिकाको मन मरिसकेको छ । अवत विद्यालय कहिल्यै खुल्दैन कि जस्तो लाग्नथाल्यो कक्षा ४ मा अध्ययनरत प्रकास छन्त्यालले भने ‘हाम्रो भविष्यप्रति चिन्ता गरेको पाइएन । हाम्रो पढाई विग्रीयो ।’ लामो समय पठनपालन बन्द हुँदा बालबालिकाको पढ्ने बानी पनि बिग्रीन थालेको अभिभावकहरु बताउँछन् । विद्यालय खुलाउन सम्बन्धित निकायमा दबाव दिएपनि कुनै सुनुवाई नभएको अभिभावकहरुको गुनासो छ ।
छिमेकी गाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर पठनपाठनलाई निरन्तरता दिएको भएता पनि यहाँ भने ७ महिनाको अवधिमा पठनपाठनको कुनै पनि गतिविधि भएका छैनन् । विद्यालय पूर्णरुपमा बन्द गरिएको छ । शिक्षकहरु घरमा बसेका छन् । एकपटक पनि शिक्षकहरु गाउँ नआएको र बालबालिकाको भविष्यमाथि खेलवाड गरिएको स्थानीयवासी अमर छन्त्यालले बताउनुभयो ।
कोरोना भाइरसको जोखिम नै नभएको गाउँमा पनि यसरी विद्यालय बन्द गरेर बस्नु राम्रो नभएको उहाँले बताउनुभयो । जोखिम भएपनि वैकल्पिक शिक्षणको विधि,निरन्तर विद्यार्थीसँगको सम्पर्क र सुरक्षाका नियमहरु पालना गरेर टोल शिक्षा गर्न सकिन्थ्यो उहाँले भन्नुभयो ।
दुर्गम भएकाले कोरोनाको जोखिम पनि छैन । जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर वा वैकल्पिक शिक्षणका विधिहरु अपनाएर पनि पठनपाठनलाई सुचारु गर्न सकिन्छ स्थानीयवासी छन्त्यालले भन्नुभयो,‘विद्यालय बन्द गरेर गाउँ छाडेका शिक्षकहरु अझै फर्किनुभएको छैन । बालबालिकाको भविष्यमाथी खेलवाड भयो ।’
कक्षा १ देखि १० सम्म पढाई हुने विद्यालयमा ३ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् । शिक्षकहरु धेरैजसो बाहिरी जिल्ला र केही तराईको भएकाले पठनपाठन सञ्चालन गर्न समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले बताउनुभयो । विद्यालय खोलौं लामो समय बन्द गर्दा बालबालिकाको भविष्य विग्रीयो भन्दा शिक्षकहरु आउन मान्नुहुँदैन अध्यक्ष छन्त्यालले भन्नुभयो, ‘घरमै बसी बसी तलब पाकेको छ गाउँ किन आउनुहुन्थ्यो ।’
बालबालिकाको पढाई अस्तव्यस्त भयो । कहिबाट हाम्रो कुराको सुनाई भएन । कार्यालय सहयोगी र लेखापाल गाउँका हुनुहुन्छ अरु सवै जिल्लाबाहिरका शिक्षक भएकाले पनि समस्या भएको अध्यक्ष छन्त्यालले बताउनुभयो । जिल्ला भित्रकै शिक्षक भएको भए यसरी विद्यालय बन्द गर्नुपर्ने अवस्था नआउने उहाँले बताउनुभयो ।
विद्यालय सञ्चालन गरी पठनपाठन सुचारु गर्न गाउँपालिकामा कुरा राख्दा पनि कुनै सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो । कोरोनाको जोखिम नभएका गाउँहरुमा पढाई सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाउनुपर्ने उहाँले बताउनुभयो ।
रौतहट निवासी प्रधानाध्यापक जहुँर आलम सँग फोनमा कुरा भएपनि आउन आलटाल गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्त्यालले बताउनुभयो । गाउँआएपछि १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भनेपछि उहाँ आउन मान्नुभएन छन्त्यालले बताउनुभयो । विद्यालय खोल्न र पठपाठनलाई निरन्तरता दिन गाउँलेहरुले दबाव दिन थालेका छन् तर शिक्षकहरुलाई सम्पर्क गर्दा आउन मान्नुहुँदैन छन्त्यालको भनाई छ ।
दुर्गम गाउँ भएकाले गाउँमा आवतजावत हुँदैन । कोरोनाबाट गाउँ सुरक्षित नै छ । विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको अभिभावक ज्ञानबहादुर विश्वकर्माले बताउनुभयो । बालबालिकाको भविष्यप्रति कोही पनि जिम्मेवार भएको पाइएन उहाँले भन्नुभयो । हाम्रा बालबालिकाको भविष्य नै बर्वाद भयो विश्वकर्माले गुनासो गर्नुभयो ।
कोरोना संक्रमणको जोखिम नभएका दुर्गम गाउँका अन्य विद्यालयहरुमा जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर पठनपाठन सञ्चालन गरिएको छ । केही विद्यालयहरुले वैकल्पिक शिक्षण विधि अपनाएर पठनपाठनलाई निरन्तरता दिएका छन भने केहीले टोल टोलमा शिक्षकहरु खटाएर पढाईलाई निरन्तरता दिएका छन् ।