म्याग्दीका ५ स्थानीय तहको कोरोना खर्च करिब तिन करोड

विकल्प न्यूज/बेनी
भदौं १५ गते ।

 

जिल्लाका स्थानीय तहहरुले कोरोना रोकथाम तथा राहत वितरणमा करिब ३ करोड रुपैयाँ खर्च गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम,नियन्त्रण,व्यवस्थापन र राहत वितरणमा स्थानीय तहहरुले चार महिनाको अवधिमा उक्त रकम खर्चीएका हुन । क्वारेन्टाइन निर्माण,लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्नलाई राहत वितरण र स्वास्थ्य सामाग्री खरिदमा बढी रकम खर्च भएको छ । रघुगंगा गाउँपालिका वाहेक पाँच स्थानीय तहको कोरोना खर्च दुईकरोड ८४ लाख ६३ हजार ६ सय १३ रुपैयाँ छ । रघुगंगा गाउँपालिकाले खर्च हिसाब तयार नभएको बताएको छ ।

बेनी नगरपालिकाले असार मसान्त सम्म ८१ लख ३३ हजार एकसय ११ रुपैयाँ खर्च गरेको छ । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च विवरण अनुसार क्वारेन्टाइन खाना खर्च र स्वास्थ्य सामाग्री खरिदमा ठूलो रकम खर्च भएको देखाएको छ । खाना र स्वास्थ्य सामाग्री खरिदमा असार मसान्त सम्म २९ लाख २४ हजार सातसय ६१ रुपैयाँ खर्च भएको जनाएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणमा क्वारेन्टाइन खाना खर्च मात्र १३ लाख ५८ हजार ७ सय ९८ रुपैयाँ खर्च भएको छ । विदेशबाट आई क्वारेन्टाइनमा बसेका नगरपालिकाका एकसय ६७ जना थिए । क्वारेन्टाइनमा वसेका बेनी नगरपालिका क्षेत्र भित्रका व्यक्तिहरुलाई खाना खुबाए वापत उक्त रकम खर्च भएको हो । यस्तै कोरोना सँग सम्बन्धित विभिन्न स्वास्थ्य सामानहरु खरिद गर्दा १५ लाख ६५ हजार ९ सय ६३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । खाना र स्वास्थ्य सामग्री खरिदमा भएको खर्च अस्वाभाविक जस्तो देखिन्छ ।

यी माथिका दुवै शिर्षकहरुमा भएको खर्चको पुरा विवरण भने उपलब्ध गराइएको थिएन । त्यस्तै मास्क,स्यानीटाइजर र अन्य स्वास्थ्य सामाग्री खरिदमा पनि ठूलो रकम खर्च गरिएको छ । कतिपय स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप विभिन्न संघसंस्थाहरुबाट बेनी नगरलाई सहयोग प्राप्त थिए । बेनी नगरपालिका क्षेत्र भित्रका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले लामो समय सम्म मास्क,स्यानीटाइजर लगायत स्वास्थ्य सामग्री नपाएको गुनासो थियो ।

नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले कोषमा एक करोड ३७ लाख तीस हजार ३७३ रुपैयाँ आम्दानी, ८१ लाख ३३ हजार ११२ रुपैयाँ खर्च र ५५ लाख ९७ हजार २६१ रुपैयाँ बचत भएको बताउनुभयो । एक हजार ३८२ परिवारलाई राहत वितरणमा २९ लाख ४४ हजार ६१७, दश वटै वडामा पाँच पाँच जनाका दरले परिचालन भएका स्वमसेवकलाई खाना तथा खाजाका लागि दैनिक पाँच सय रुपैयाँका दरले दुई लाख ७१ हजार ६०० रुपैयाँ खर्च भएको छ ।

यसैगरी भारतबाट सिमा नाकामा आएका र विदेशबाट काठमाडौको होल्डीङ सेन्टरमा आएका १६७ जनालाई बेनी ल्याउन यातायात भाडा वापत तीन लाख पाँच हजार ३४९, शैक्षिक तालिम केन्द्रको भवनमा दश सैयाको आइसोलेसन बनाउन १७ लाख ८३ हजार रुपैयाँ खर्च भएको प्रवक्ता बराइलीले जानकारी दिनुभयो ।

आइसोलेसन बनाउन गरिएको खर्च पनि पारदर्शी नभएको गुनासो सर्वसाधरणहरुको छ । यसैगरी मंगला गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५९ लाख ५३ हजार ९ सय ४ रुपैयाँ खर्च भएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले दिएको जानकारी अनुसार कोरोना व्यवस्थापन सामग्री खरिदमा तिन लाख १५ हजार ६४ रुपैयाँ खर्च भएको छ ।

सवारी साधन भाडामा दुइलाख २२ हजार ६ सय ४०,आइसोलेशन निर्माणमा दुइलाख पचास हजार,क्वारेन्टिन खाजा खाना बेनीमा समेत गरेर १० लाख ७२ हजार ४०,सुरक्षाकर्मी तथा स्यमसेवक खर्च ८ लाख ८५ हजार एकसय ४५,स्वयमसेवक इन्धन खर्च दुइलाख ६२ हजार र राहत तथा खाद्यन्न सामग्री वितरणमा २४ लाख ९० हजार दुइसय ६३ रुपैयाँ खर्च भएको आचार्यले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाले शिर्षक अनुसार खर्च तयार पारेको छैन । मालिका गाउँपालिकाका लेखा अधिकृत फणिन्द्रप्रसाद आचार्यले दिएको जानकारी अनुसार गाउँपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनमा असार मसान्त सम्म ५७ लाख १७ हजार ९ सय ३३ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन,राहत वितरण र बेनीमा सञ्चालन गरिएको क्वारेन्टाइन तथा आइसोलेसनमा उक्त रकम खर्च भएको उहाँको भनाई छ ।

धौलागिरि गाउँपालिकाले पनि खर्च विवरण तयार पारेको छैन । लेखापाल र प्रमुख प्रशासकीय अधिकृत गाउँपालिका भन्दा वाहिर भएकाले खर्च विवरण तयार भइनसकेको गाउँपालिकाले जनाएको छ । तर लेखापाल किष्णप्रसाद खरालले फोन मार्फत करिब ४० लाख रुपैयाँ खर्च भएको अनुमानित विवरण टिपाउनु भयो । राहत वितरण,क्वारेन्टाइन व्यवस्थापन लगायतका शिर्षकमा खर्च भएको उहाँको भनाई छ ।

अन्नपूर्ण गाउँपालिकाले ४६ लाख ५८ हजार ६०४ खर्च भएको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार राहत सामग्री खरिद तथा ढुवानी १८ लाख ६० हजार ६ सय २१ खर्च भएको छ ।

यसैगरी १० लाख ५८ हजार तिनसय ६४ रुपैयाँको स्वास्थ्य सामग्री,उपकरण र गाउँ तथा वडास्तरीय क्वारेन्टिन व्यवस्थापनमा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । सुवेदीले दिएको जानकारी अनुसार क्वारेन्टिन व्यवस्थापन खर्च ७ लाख २९ हजार ८ सय ३४ र स्वास्थ्यकर्मी,सुरक्षाकर्मी परिचालन भत्ता,खाना तथा खाजा खर्च ४ लाख ९० हजार ७ सय पचास रुपैयाँ खर्च भएको छ ।

उद्धार तथा व्यवस्थापनमा ८६ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । जिल्लास्तरीय क्वारेन्टिन तथा आइसोलेसन निर्माणमा ४ लाख ३९ हजार ३५ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।

भदौं २ गते बेनीमा सम्पन्न भएको सर्वपक्षिय भेलामा कोरोना व्यवस्थापनमा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने विषय उठान भएपछि स्थानीय तहहरुले खर्च विवरण सार्वजनिक गर्न थालेका हुन । जिल्ला कोरोना प्रकोप संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मार्फत कोरोना व्यवस्थापन तथा रोकथमका लागि भएको आम्दानी र खर्च विवरण सोमबार सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको करिब २० लाख रुपैयाँ कोरोना रोकथाम,व्यवस्थापन तथा नियन्त्रण कार्यमा खर्च भएको प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।