चन्द्रप्रकाश बानियाँ/विकल्प,
भन्न त “नजाने गाउँको बाटो नसोध्नु” भनिन्छ । तर त्यस्तो भनाई अव्यवहारिक र पूर्वाग्रहप्रेरित होइन भन्न मिल्दैन । मानिसले आफ्नो वरिपरिको परिवेशको सुक्ष्म जानकारी राख्नै पर्छ । कसैसँग पनि सदाकालको लागि कित्ताकाट गरेर व्यवहार चल्दैन । विज्ञान र प्रविधिले संसारलाई यति विघ्न साँघुरो र संकुचित बनाइसकेको छ कि घरमै बसेर पनि छ इञ्चको टयाब्लेट–स्क्रिनमा संसार अवलोकन गर्न सकिने भएको छ । माओले प्रतिपादन गरेको “ढोकाबन्द”को नीति भत्काएर आधुनिक चीनले संसारभर खुट्टा पसारी सकेको छ । वल्ला पल्लाघरे छिमेकीहरुसँगको सम्बन्ध कति महत्वपूर्ण हुँदो रहेछ भन्ने कुरा पछिल्लो भारतीय नाकावन्दीले स्पष्ट गरिदिसकेको छ । फेरि नेपाली काँग्रेस बुढो भए पनि नेपालको जेठो बाठो पार्टी हो । प्रजातन्त्रको पहिलो विगुल उसैले फुकेको हो । सर्वाधिक नेपाली जनताले पत्याउने गरेको पार्टी काँग्रेस नै हो । बारम्बार सत्तामा पुग्ने कुण्डली लिएर जन्मेको पार्टी हुनाले स्वभावतः उसका हरेक गतिविधिले आम नेपाली जनतासँग साइनो सरोकार राख्छन् । उसले अख्तियार गर्ने नीतिले सिङ्गो मुलुक प्रभावित हुन्छ । नचाहेर पनि हरेक नेपालीको साइनो काँग्रेससँग गासिन्छ । त्यसैले पनि काँग्रेसका गतिविधबाट पूरै निस्पृह कसरी रहन सकिन्छ र ?
हाम्रो समाजमा “वैंस चढ्नु” लाई मानिसको उच्छृङ्खल गतिविधितर्फ इङ्गित गर्ने अर्थमा प्रयोग गर्ने गरेको पाइन्छ । सामान्यतः यो शब्दावलीले नकारात्मक अर्थबोध गराउँछ । तर मेरो आशय भन्ने त्यस्तो किमार्थ होइन । भावार्थ होइन शब्दार्थको मात्र प्रयोग गर्न खोजेको हो । मेरो मनशाय म्याग्दी काँग्रेस जवान भएछ, तन्नेरी भएछ भन्ने मात्रै हो । अझ यसो भनौं– म्याग्दी काँग्रेसको संगठनमा नयाँ जीवन सञ्चार हुन थालेछ भन्ने हो । हो, नेपालको राजनीतिक इतिहासका दृष्टिले नेपाली काँग्रेस जेठो पार्टी हो । माऊ पार्टी हो । त्यस अर्थमा बुढो पार्टी पनि हो । उमेरले मात्र होइन नीति, सिद्धान्त र कार्यक्रमका दृष्टिले पनि काँग्रेस बुढो भैसक्यो, अप्रसांगिक भैसक्यो भन्ने मान्यता राख्ने बुद्धिजीवि विद्वानहरुको संख्या पनि यथेष्ट रहेको कुरा तीतो यथार्थ हो । हुन पनि कुनै राजनीतिक संगठनलाई सधै तरोताजा र जीवन्त राख्ने तत्व भनेको नीति र संगठन हो । यी दुबै मामलामा काँग्रेस कमजोर छ । परम्परावादी छ । जडवादी छ । विपी विचारको माला जपेरै छ दशक लामो जीवन व्यतित गरिसकेको छ । काँग्रेसमा नयाँपनको नितान्त अभाव छ । त्यही कारणले समर्थक शुभचिन्तकहरुकै बीचमा पनि नेपाली काँग्रेस आलोचित हुँदै आएको छ । तर म्याग्दीमा भने नेपाली काँग्रेसको पार्टी जीवनमा पहिलो पटक नयाँ तरङ्ग देखा परेको छ । नयाँ उत्साह र नविन उमङ्ग सञ्चार हुनथालेको स्पष्ट अनुभूति भएकोे छ ।
यस अघि पनि महाधिवेसनहरुको औपचारिकता पूरा हुन्थ्यो । काँग्रेसको महाधिवेसनको अर्थ सांगठनिक निर्वाचन भन्ने लाग्छ । त्यसैले आवधिक निर्वाचनको औपचरिकता पु¥याइन्थ्यो । निर्वाचनको आयोजना हुन्थ्यो । तर सधैजसो जिल्ला संगठनहरु प्रायः निर्विरोध गठन हुने गर्थे । लाज नमानिकन भन्नुपर्दा सबै पार्टी संगठनहरु मनोनितहरुबाट चल्थ्यो, चलाइन्थ्यो । त्यसैले होला काँग्रेस संगठनहरु शिथिल नभए पनि गतिशील हुदैनथे । यसपटक म्याग्दीको इतिहासमा एउटा नयाँ आयाम देखापरेको छ । त्यही अर्थमा पार्टीलाई वैंस चढेछ भनिएको हो । पार्टीलाई वैंस चढेछ भन्नुको अर्थ केवल डा. भूपेन्द्र खडकाजस्ता परिपक्क काँग्रेसहरुलाई “रकाल”जस्ता नौसिखिया किशोर काँग्रेसहरुले निर्वाचनमा पछारेको घटनालाई इङ्गित गर्न खोजेको होइन । त्यो त आफैले समातेको लठ्ठीले “खोइ, खोई बुढा ! म अघि जान्छु” भन्छ भनेजस्तो मात्र हो । तन्नेरी पुस्ताको हातमा पार्टीसत्ता पर्नुलाई मात्रै पार्टीमा वैंस चढेको हो भनेर अथ्र्याउन मिल्दैन । निर्वाचनमा हारजीत हुनु एउटा स्वाभाविक परिणाम हो । एउटाले नहारिदिने हो भने अर्कोले विजयश्री कसरी प्राप्त गर्न सकछ र ?। हार नहुने हो भने विजयको महत्व नै हुदैनथ्यो । जहाँ प्रतिश्पर्धा हुन्छ त्यहाँ हारजीत हुन्छ । प्रश्पिर्धाबाट प्राप्त गरेको बस्तुको मूल्य गरुङ्गो हुन्छ । प्रतिश्पर्धामा उत्रने उत्साहले मात्र कार्यकर्तालाई जुझारु बनाउँछ र संगठनलाई पनि कामकाजी बनाउँछ । त्यसमाथि म्याग्दी काँग्रेसको निर्वाचनमा कसले जित्यो, कसले हा¥यो, भन्ने कुरा गैरकाँग्रेसीहरुको सरोकारको विषय नै होइन । भन्न खोजिएको कुरा के मात्रै हो भने निर्वाचन हुने परिस्थिति निर्माण हुनु र निर्वाचनमा सक्रिय सहभागिता देखिनु संगठन क्रियाशील रहने पूर्वाधारको परिचायक हो । र त्यो एउटा अत्यन्तै महत्वपूर्ण शुभसंकेत हो । बस् ।
२००३ सालमा जन्मेको काँग्रेसकोे उमेरले सात दशक पूरा गर्नै आँट्यो । अर्थात काँग्रेस पुरानै हो । पञ्चायती व्यवस्थाको जरो उखेल्ने अभियानमा काँग्रेससँग हामीले पनि हातेमालो गरेकै हो । राजसंस्थाको वेदखलमा पनि यथाशक्ति सहकार्य भएकै हो । तर आफैले भोगेको एउटा तितो घटनाले भने म्याग्दी काँग्रेस कहिल्यै उठ्न नसक्ने गरि थलापरिसकेछ भन्ने अनूभूति गराएको थियो । घटना २०४५ सालको हो । उदार वामपन्थीहरु समेतलाई सामेल गरेर “प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च” नामको मोर्चासंगठन तत्कालीन माले पार्टीको पहलमा गठन भएको थियो । २०४६ सालको आन्दोलनको पहिलो शंखघोषको औपचारिक थालनी त्यही संगठनले गरेको हो भन्दा पनि फरक पर्दैन । भूमिगत रुपमा देशैभर विविध विरोधका कार्यक्रमहरु त्यो संगठनले सञ्चालन गर्ने गरेको थियो । तिनै कार्यक्रमहरुमध्येको एउटा “प्रतिवन्धित पार्टीहरुको झण्डाहरुको सार्वजनिक प्रदर्शन र प्रचार” गर्ने पनि थियो । वेनीको सेरोफेरोमा कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी निर्वाहको सन्दर्भमा अनुभूत गरेको नमिठो सम्झना बाँडचुड गर्दा काँग्रेसको तत्कालीन अवस्थाको जानकारी होला र यतिबेला बल्ल “वैंस चढन थालेछ” भन्ने भनाई पुष्टि पनि होलाजस्तो लागेको छ !
हुनत “काँग्रेस जिन्दावाद र मुर्दावाद” भन्न सिकेको पन्ध्रसालमै हो । तैपनि त्यतिबेलासम्म मेरो स्मरणमा काँग्रेसको झण्डाको आकार प्रकार र रुपरङ्गग हराइसकेको थियो । “चारतारे रातो” भन्ने सम्म सम्झना थियो । काँग्रेसी झण्डाको असली रुपरङ्गको जानकारी पनि लिने र प्रदर्शनका लागि केही थान झण्डाहरु पनि बनाउने उद्देश्यले वेनी झरियो । कठै बरा ! सिंङ्गो बजारमा झण्डाको नालीबेलीको जानकारी दिने एउटा मान्छे पनि फेला परेन । नजानेर हो अथवा नचाहेर हो कुन्नी ? काँग्रेसको झण्डा “यस्तै हुन्छ” भनेर भनिदिने कोही भएन । निर्धक्कसँग आफूलाई काँग्रेस भनेर चिनाउने हिम्मत गर्ने लक्ष्मीप्रसाद श्रेष्ठ तिनताका रुमतिरै बस्थे । लक्ष्मीदाईको अभाव पहिलोचोटि खटकेको त्यतिबेलै हो । अर्थात प्रजातन्त्रको पुनस्ंथापना “मुखैमा” आउने बेलासम्म वेनीबजारमा “काँग्रेसको वीउ” पनि फेलापार्न कठिन थियो । सरेबहादुर सेरचन, डेकबहादुर बानियाँ, दीर्घनारायण भट्टचन, पदमबहादुर खत्री, झकबहादुर सेरचन, गोपालनारायण भट्टचनजस्ता पन्ध्रसाले काँग्रेसहरु सबै पञ्च भैसकेका थिए । देशमा फेरि पार्टीव्यवस्था फर्कन्छ र काँग्रेस पार्टी पुनर्जीवित हुन्छ भन्ने कसैले कल्पना गरेको पनि थिएन । सायद, “पहरोसँग कुहिनो जुधाउनुको सुखद प्रतिफल प्राप्त हुँदैन” भन्ने हीनग्रन्थीले सिङ्गो समाज र पार्टी कार्यकर्ताहरु ग्रसित भैसकेको थिए । समय बदलियो । व्यवस्था परिवर्तन भयो । पार्टीहरु पुनर्जीवित भए । राजनीतिक दलहरु पुनस्थापित भएयता निरन्तर मनोनितवादी ढर्राबाट कामचलाउ संगठन निर्माण गर्ने परम्परा नै बसालेको म्याग्दी काँग्रेसको यसपटक नितान्त फरक रुपरङ्ग देखियो । त्यसैले काँग्रेसलाई पनि वैंस चढ्न थालेछ भन्न मन लागेको हो । अन्यथा अर्थमा होइन । नवविकल्प साप्ताहिक अंक २३ मा प्रकाशित